सत्ता गठबन्धनमा सुदूरपश्चिमको सकस

६ वैशाख धनगढी
सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर गठबन्धनभित्र अन्तरविरोध बढेको छ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ सकिँदैछ।

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नेकपा (एमाले) ले मानेको छैन।

नेकपा (एमाले)ले अर्घेल्याइँ गरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेससँग संवाद अघि बढाएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ।

पूर्वपरराष्ट्र मन्त्री एवं केन्द्रीय सदस्य नारायण खड्काको निवास गोल्फुटारमा भएको भेटवार्तामा सुदूरपश्चिममा दीर्घ सोडारीलाई सघाउन कांग्रेस तत्पर देखिएको छ।

यसले सत्ता गठबन्धनभित्र झाँगिँदो अन्तविरोधलाई सतहमा ल्याएको छ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले अनावश्यक अर्घेल्याइँ गरेको बताए।

‘एमालेको चरित्र नै अर्घेल्याइँसँग जोडिएको छ। एमालेले अर्घेल्याइँ गर्ने भएर नै हामीले छोडेर आएका हौं,’ उनले भने, ‘चैत १९ गते नै सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने समझदारी भएको थियो। हामीले बागमती मागेका थियौं। तर एमालेले नै सुदूरपश्चिमको नेतृत्व गर्नुस् भनेको थियो। तर बीचमा कुरा फेर्‍यो।’

एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने भएपछि नेतृत्व तोक्ने काम सम्बन्धित पार्टीकै भएको बताए। एमालेले यो पात्र राख्, ऊ पात्र ल्या भनेर भन्नु तर्कसंगत नरहेको उनको टिप्पणी थियो।

‘एकीकृत समाजवादी एमालेको ब्रान्च अफिस त होइन। एमाले हेड अफिस, एकीकृत समाजवादी त्यसको ब्रान्च त होइन नि। मुख्यमन्त्रीबारे निर्णय गर्न दल स्वतन्त्र छ,’ उनले भने।

गठबन्धनभित्र झाँगिँदो अन्तरविरोध

प्रदेशमा शक्ति बाँडफाँटलाई लिएर सत्ता गठबन्धनभित्र अन्तरविरोध बढ्दो छ। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीकै टुंगो लाग्न सकेको छैन। लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीले मुख्यमन्त्री जोखबहादुर महराले सहमति उल्लंघन गरेको आरोप लगाएको छ।

त्यहाँ सहमतिअनुरूप एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराइएको भन्दै सांसदहरूले असन्तुष्टि पोखेका छन्।

‘सात बुँदे सहमति गरेर दलका नेताहरूले हस्ताक्षर गरेका छन्,’ एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले भनिन्, ‘हिजोसम्म मलाई मन्त्री दिने भन्ने थियो तर आज चाहिँ यस्तो गर्छन् भने यो कहाँसम्मको राजनीतिक बेइमानी हो!’

उता कोशी प्रदेशमा पनि एकीकृत समाजवादी सरकारबाट बाहिरिएको छैन। एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगू त्यहाँको भौतिक पूर्वाधार तथा विकास मन्त्री छन्।

कोशी प्रदेशमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेका छन्। एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन्।

मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादी केन्द्रले संसदमा संकल्प प्रस्ताव अघि बढाएका हुन्। यसअघि उनीहरूले गत सोमबार प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका थिए। वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषदका कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने ब्यहोरा प्रस्तावमा उल्लेख छ।

राजीनामा वा विश्वासको मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने पनि संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।

उत्साहित कांग्रेस

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर सत्ता गठबन्धनभित्र धाँजा फाट्न थालेपछि कांग्रेस उत्साहित भएको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एमाले) ले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन नगरे कांग्रेसले सघाउने तयारी गरेको छ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले माधव नेपालसँगको भेटमा यही समझदारी गरेका छन्।

बिहीबार सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए। उनले पदाधिकारी बैठकमा पनि सोडारीलाई समर्थन गर्न सकिनेबारे ब्रिफिङ गरेका छन्।

‘आजको पदाधिकारी बैठकमा सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भयो। त्यहाँ एमालेले दीर्घ सोडारीलाई समर्थन नगरे कांग्रेसले सघाउने सहमति भएको ब्रिफिङ गर्नुभयो,’ सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply