४६ वर्षमा पनि पूरा भएन लुम्बिनी गुरूयोजनाको काम

१० जेठ धनगढी
आज २५ सय ६८ औं बुद्धजयन्ती अर्थात् लुम्बिनी दिवस। विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

लुम्बिनी विकास कोषले विगत दुई दिनदेखि नै रुपन्देहीसंगै नवलपरासी र कपिलवस्तुमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइरहेको छ।

बिहीबार पनि लुम्बिनीमा विशेष कार्यक्रम गरिँदै छ। विहान ९ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिर, सम्मेलनकेन्द्र लगायत लुम्बिनी वरपर झिलिमिली बनाइएको छ।

मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसंगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरु समेत सहभागी हुनेछन्।

आज बिहानैदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा भइरहेको छ। त्यस्तै अहिले शोभायात्रा सुरु हुँदै छ।

४६ वर्षमा पनि पुरा भएन गुरुयोजनाको काम

गएको पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा तीन प्रतिशत मात्र बढेको छ।

२०७६ सालमा २५६३ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसको अवसरमा गुरुयोजनाको ८२ प्रतिशत काम पुरा भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो। लुम्बिनी विकास कोषले त्यसको ५ वर्षपछि विहिबार २५६८ औं बुद्धजयन्ती मनाउँदै गर्दा गुरुयोजनाको ८५ प्रतिशत मात्र काम पूरा भएको जनाएको छ।

लुम्बिनी विकास गुरुयोजनाको काम १५ वर्षमा सम्पन्न हुनुपर्ने थियो।

जापनिज वास्तुविद् प्राध्यापक केन्जो टांगेले सन् १९७२ मा शुरु गरेर १९७८ लुम्बिनीको गुरुयोजना तयार गरी सरकारलाई हस्तान्तरण गरेका थिए।

संगठित संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव उथान्त सन् १९६७ अप्रिल १३ मा लुम्बिनी आउँदा लुम्बिनीको अवस्था अस्तव्यस्त र लथालिंग देखेपछि नेपाल सरकारसमक्ष लुम्बिनी विकासको गुरुयोजना बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए।

उथान्तको प्रस्ताव अनुसार नै टांगेले लुम्बिनीको गुरुयोजना बनाउने जिम्मा पाएका थिए।

कुल एक हजार १५५ बिघा क्षेत्रफल जमीनलाई गुरुयोजना भित्र पारी टांगेले तिनभागमा विभाजन गरेका थिए थिए।

एकहजार एकसय ५५ विघा जमीन तीन वर्गमाइलमा समेटिएको छ। पूर्वपश्चिम एक वर्गमाइल र उत्तर दक्षिण तीन वर्गमाइलमध्ये दक्षिणतर्फको एक वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, एक वर्ग माइललाई अन्तर्राष्ट्रिय विहार क्षेत्र र अर्को एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेर गुरुयोजना बनाइएको छ।

तर १५ वर्षमा सम्पन्न हुनुपर्ने गुरुयोजना अनुसारको काम साढे चार दशक भन्दा बढी भइसक्दा पनि अझै १५ प्रतिशत बाँकी छ।

यति लामो समयसम्म गुरुयोजनाको काम पूरा हुन नसक्दा अहिलेसम्म लुम्बिनीमा गरेको लगानीको प्रतिफल सरकार तथा स्थानीय कसैले पनि लिन सकेका छैनन्।

संघीय सरकारको मातहतमा रहेको लुम्बिनी विकास कोष वर्षको एकपटक बुद्ध जयन्तीमा मात्रै सक्रिय देखिन्छ। सरकारले पनि प्रयाप्त बजेट विनियोजन नगर्दा गुरुयोजनाको काम कछुवा गतिमा छ।

विकास कोषका पदाधिकारीहरु सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा गुरुयोजनाको काम पुरा गर्न नसकिएको बताउँछन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले एउटा सरकारले श्रोत सुनिश्चित गरेपनि अर्को सरकारले बजेट कटौती गर्ने परिपाटीले लुम्बिनी पछाडी परिरहेको आरोप लगाए।

‘विष्णु पौडेल अर्थमन्त्री हुँदा लुम्बिनी गुरुयोजना पुरा गर्न ३ अर्बको बजेट सुनिश्चित भएपछि निर्माणको लागि ठेक्का समेत गरिएको थियो तर, पछिल्लो सरकारले ७० प्रतिशत कटौती गरिदियो अनि कसरी गुरुयोजनाको काम पूरा गर्न सकिन्छ,’ उपाध्यक्ष लामाले भने।

उनले सरकार लुम्बिनीको विकासका लागि उदासिन रहेको आरोप समेत लगाए।

‘विश्वभरि लुम्बिनीको सकारात्मक सन्देश जाने बुद्ध जयन्ती समारोह मनाउनका लागि त सरकारले बजेटको व्यवस्था गर्न चासो देखाउँदैन, अर्थ मन्त्रालयमा बजेट माग गर्न जाँदा सरकारको व्यवहारले धेरै दुःखी बनाएको छ,’ उपाध्यक्ष लामाले भने।

सरकारले बजेट विनियोजनमा यस्तै वेवास्ता गर्दै जाने हो भने अझै ५० वर्षमा पनि गुरुयोजनाको काम सम्पन्न नहुने उनले बताए।

विकासकोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई सरकारले गुरुयोजनाको कामको लागि मात्र होइन पुरातात्विक संरचनाहरुको उत्खनन्तर्फ पनि चासो नदिएको बताए।

‘लुम्बिनी र आसपासका तिनवटा जिल्लामा मात्रै बुद्धसँग सम्बन्धित १६ वटा पुरातात्विक साइटहरु हराएका छन्, समयमा बजेटको प्रवन्ध गरेर उत्खनन् गर्न सकेको भए पहिचान गरेर संरक्षणको प्रयास हुनसक्थ्यो,’ भट्टराईले भने।

सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजना पनि भन्ने तर, गौरबको आयोजना पुरा गर्न बजेट उपलब्ध गराउन आनाकानी गरिरहेको बताए।

विकासकोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ५ अर्व बढि रकम खर्च भईसकेको छ। अहिलेको अवस्थामा गुरुयोजना पूरा गर्न अझै ३ अर्ब भन्दा बढी बजेट आवश्यक पर्छ।

२ वर्ष अगाडि नै गुरुयोजना अन्तर्गतका ६ वटा भवन, फोहर व्यवस्थापन, नदी डाइभर्सन बाहेकका काम सम्पन्न भएको भनिएपनि धेरै योजनाहरु बहुवर्षीय ठेक्का लागि सकेकाले निर्माणाधीन अवस्थामा छन्।

गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणका निम्ति ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुई विशेष डिजाइन भएको पानी ट्यांकी, करिब २५ किलोमिटर क्षेत्रमा पानी वितरण प्रणाली निर्माण सम्पन्न भएको कोषले जनाएको छ।

विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानीन राईले सरकारले बजेटको सुनिश्चित गरे १ वर्षमा गुरुयोजनाको काम सम्पन्नको दिशामा जाने दावी गर्छन्।

गुरुयोजना तयार हुँदा ५५ मिलिनियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएपनि त्यसको लागतलाई अहिले मूल्यांकन गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply