१७ जेठ धनगढी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बिन्दबासिनी कंसाकारले आफूमाथि तेजाब आक्रमण भएपछि उपचारका क्रममा आफ्नो घर लिलाम भएको बताएकी छिन्।
प्रतिनिधि सभाको महिला तथा बालबालिका समितिमा सांसद कंसाकारले आफ्नो बैंक खाता रोक्का रहेको र तलब-भत्ता समेत पाउन नसकेको बताइन्।
सांसद कंसाकारले पीडा राखेपछि बैठकमा सहभागी कानुनमन्त्री पदम गिरीले आँसु खसाले।
अन्य सांसदहरूले विगतमा पनि यो कुरा सुनेको हुन सक्ने तर आफूले पहिलोपटक सुनेको मन्त्री गिरीले उल्लेख गरे।
‘एघार वर्ष भयो घटना भएको। पीडितले अनेक ऋण-धन गरेर उपचार गर्नुपर्यो। त्यसकारण एउटा घर लिलाम भयो। अर्को लिलाम हुने चरणमा छ भनेपछि म यसलाई समाजको ठूलो घाउका रूपमा बुझ्छु,’ मन्त्री गिरीले भने, ‘ऋण लिन नसकेको भए त पीडित त मर्नुपर्ने रहेछ नि! उहाँलाई क्षतिपूर्ति दिन मैले अर्थ मन्त्रालयमा फाइल पठाएको छु।’