राष्ट्रिय टोलीबाट खेल्ने सपना बुन्दै दिल्लीमा क्रिकेट सिकिरहेका नरेन

धनगढी असार २४
गत वर्षको साउनमा नेपालले मलेसियामा भएको ‘एसिसी यू–१६, इस्ट जोन’ प्रतियोगिताको उपाधि जित्यो। उपाधि जिताउन नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्वाधिक अविजित ११२ रनको योगदान गरे।

उनले १० चौका र दुई छक्काको मद्दतमा ११२ रन बनाएका थिए। उनको उत्कृष्ट प्रदर्शनमा नेपालले फाइनल खेलमा घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको थियो।

मलेसियाको ‘बायुमास ओभल क्रिकेट मैदान’ मा भएको खेलमा नेपालले २२१ रनको सानदार जित दर्ता गरेको थियो।

क्रिकेट खेल्न थालेको पाँच वर्षमा नरेनले प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय, स्तरका प्रतियोगितामा गरी तीन शतक प्रहार गरेका छन्।

यही असार १२ गते पाँचौं संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को ‘सुदूरपश्चिम आइकन पुरूष’ विधामा नरेनलाई अवार्ड प्राप्त भयो।

सुदूरपश्चिम आइकन पुरूष विधातर्फको अवार्डका लागि २०८० मा तीन जना खेलाडी छनोट भएका थिए।

कैलाली खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले भने, ‘छनोटमा परेका खेलाडीमा पनि १९/२० को मात्रै फरक हुन्छ। प्रशिक्षक, विश्लेषक र विज्ञहरूसँग छलफलबाट अवार्डका लागि नरेन छानिए।’

कैलाली क्रिकेट एकेडेमीका प्रशिक्षक ज्ञानेन्द्र दडीवाना क्षेत्रीका अनुसार नरेन लोभलाग्दो खेलाडीका रूपमा अघि बढ्दै छन्।

‘उदाउँदै गरेका नयाँ खेलाडीमध्ये नरेन निकै राम्रा छन्। उनले २०८० मा पिएम कप र यू–१६ को इस्ट जोन कपमा लोभलाग्दो ब्याटिङ गरे,’ ज्ञानेन्द्रले भने, ‘ब्याटिङ हेर्दा क्रिकेटमा नरेनको भविष्य निकै राम्रो छ। अबको एक दुई वर्षमा उनले सिनियर टिमबाट खेल्छन्। उनीप्रति हामीलाई गर्व छ।’

बैतडीको मेलौली नगरपालिका–७, काँडाका स्थायी बासिन्दा नरेन क्रिकेटकै लागि धनगढीमा डेरा लिएर बस्छन्। कहिलेकाहीँ भारतको दिल्लीमा पनि बस्छन्।

आमाबुबा घरमा खेतीपाती गर्छन्। दाजु जयराम गाउँमै पसल चलाउँछन्। उनले पनि जिल्लादेखि प्रदेशसम्म क्रिकेट प्रतियोगिता खेले तर निरन्तरता दिन सकेनन्।

उनले भाइलाई क्रिकेटमा अघि बढाउन खम्बाजस्तै बनेर साथ दिएका छन्।

नरेनले ६ वर्षअघि क्रिकेट खेल्न सुरू गरेका थिए। गाउँका दाइहरू टेनिस बल लिएर विद्यालयको चौरमा क्रिकेट खेल्थे। नरेन दाइहरूको खेल हेर्थे र कहिलेकाहीँ खेल्ने मौका पनि पाउँथे।

यस्तैमा जयरामले नरेनले क्रिकेट खेल्न सक्छ भन्ने ठहर गरे। लगत्तै भाइलाई क्रिकेट सिकाउन भारतको दिल्ली लगेर त्यहाँको ‘आरपी क्रिकेट एकेडेमी’ भर्ना गराए। गाउँकै एक नातेदारसँग बसेर नरेनले एक वर्ष क्रिकेट सिके।

त्यसपछि धनगढी फर्केर ‘धनगढी क्रिकेट एकेडेमी’ मा भर्ना भए। त्यहाँ एक वर्ष सिके। त्यसपछि फेरि दुई महिना दिल्लीमा बसे। उनी मौका पारेर क्रिकेट अभ्यास गर्न दिल्ली जान्छन्।

नरेनले औपचारिक खेल पाँच वर्षअघि दिल्लीमै खेलेका थिए। त्यहाँ उनी क्लबस्तरीय प्रतियोगितामा ओपनर ब्याटरका रूपमा मैदानमा उत्रिएका थिए। उनले ५० रनमा नटआउट भएर अन्तिमसम्म खेले।

त्यसपछि धनगढीमा विद्यालय स्तरीय ‘लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट’ प्रतियोगिताको सिजन चार खेले। कैलालीको बौनियाँमा विद्यालयस्तरकै ‘बालवाटिका क्रिकेट लिग’ खेले।

यसरी नरेन क्रिकेटमा अघि बढे।

दुई वर्षअघि ‘सुदूरपश्चिम स्तरीय यू–१९ छनौट प्रतियोगिता’ भएको थियो। त्यसबाट उनी प्रदेशको टिममा परे।

खड्ग बोहराको कप्तानीमा प्रदेशको यू–१९ टिमले राष्ट्रियस्तरको प्रतियोगिता खेल्यो। टिममा नरेनसँगै लोकेश बम, अर्जुन साउद, हेमेन्त धामी, आकाश चन्द, नारायण जोशी, वसन्त कार्की लगायतका खेलाडी थिए।

नरेनले प्रदेशको टिमबाट खेलेको पहिलो प्रतियोगिता थियो। फाइनलमा लुम्बिनीले उपाधि जित्यो। सुदूरपश्चिम उपविजेता भयो। प्रदेशको टिममा परेर राष्ट्रियस्तरको छनौट प्रतिायोगिता खेले पनि नरेन राष्ट्रिय टिमका लागि छनोटमा परेनन्।

यू–१९ को टिममा नपरे पनि यू–१६ को राष्ट्रिय टिममा परे।

‘एसिसी यू–१६ इस्ट जोन कप’ का लागि अवेशिक तिवारीको नेतृत्वमा यू–१६ नेपाली टिम बन्यो। त्यस प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन नरेनले उत्कृष्ट शतक प्रहार गरे।

त्यसपछि नरेन यू–१९ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे तर फेरि पनि राष्ट्रिय टिममा परेनन्। करिब तीन हप्ता क्याम्पमा बस्दा खेलका अनेक सिप सिक्ने अवसर पाए।

२०८० मा ‘प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टोली घोषणा भयो। राजु रिजालको कप्तानीमा टिम बन्यो। टिममा नरेन पनि थिए।

सुदूरपश्चिमले प्रतियोगिता आठ वटा खेल खेल्यो। नरेनले आठवटै खेलमा कुल २६७ रन बनाए। मधेस प्रदेशसँगको खेलमा १२१ रन बनाएका थिए। उनले १२२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १२१ रन बनाए। शतक पूरा गर्न १०८ बल खर्चेका थिए।

नरेन नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ सँग टी–२० र एक दिवसीय सिरिज खेल्न चलाएको ‘ए’ टिमको बन्द प्रशिक्षणमा परे। उनले आयरल्यान्ड ‘ए’ टिमसँग एक दिवसीय सिरिजका दुई खेल खेल्ने अवसर पाए।

उनको प्रदर्शन उत्कृष्ट हुन सकेन। एउटा खेलमा ६ रन र दोस्रो खेलमा १५ रन मात्रै बनाए।

त्यस्तो किन भयो त?

उनले भने, ‘टिमकै ब्याटिङ चलेन, खेलाडीले पूरै टिमलाई जिताउनुपर्छ भनेर खेल्ने हो।’

आयरल्यान्डको सिरिजपछि उनले विराटनगरमा अर्को टी–२० प्रतियोगिता खेले। उक्त प्रतियोगितामा सुदूरपश्चिम टिम सेमिफाइनलबाट बाहिरियो।

प्रतियोगिताको पहिलो खेलमा नरेनले ६२ रन बनाए। त्यस खेलको ‘म्यान अफ द म्याच’ उनै भए।

मूलपानी क्रिकेट मैदानमा टी–२० फर्म्याटमै खेलाइएको गणेशमान कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ४७ रन बनाए।

नरेनले गत जेठमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय यू–१९ छनोट प्रतियोगिता बैतडी टिमबाट खेले। प्रतियोगिताको उपाधि उनकै टिमले जित्यो। उनले एक शतक प्रहार गर्दै कुल १५७ रन बनाए।

नरेनले खेलेका चार खेलमध्ये दुई खेलमा उनी ‘म्यान अफ द म्याच’ भए। प्रतियोगितामा उनले अलराउन्ड प्रदर्शन गरे। चार खेलमा तीन विकेट लिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि उनै भए।

उनी छनौट भए भने ‘यू–१९ नेपाली पुरूष क्रिकेट टिम’ मा पर्नेछन्। उनको लक्ष्य यू–१९ टिममात्र होइन, सिनियर टिम हो।

उनी भन्छन्, ‘देशका लागि खेल्नु छ, देशलाई जिताउनु छ। राष्ट्रिय टिमबाट खेल्ने मेरो लक्ष हो।’

यू–१९ बाटै राम्रो खेल्न सके सिनियर टिममा जान सजिलो हुने उनको भनाइ छ।

अहिले नरेन दिल्ली तयारीमा छन्। उनले धनगढीमा र दिल्लीमा क्रिकेट सिक्दा निकै ठूलो फरक अनुभव गर्ने गरेका छन्।

भन्छन्, ‘दिल्लीमा टर्फ पिच राम्रो छ। विज्ञ कोचहरू छन्। धनगढीमा सिमेन्टमा खेल्नुपर्छ। यहाँ आफैले अभ्यास गर्नुपर्छ सिकाउने कोच हुँदैनन्। दिल्लीमा ब्याटिङ र बलिङ गराउने प्रशिक्षक फरक हुन्छन्।’

नरेनका भाइ सचिन पनि क्रिकेट खेल्छन्। उनले पनि ‘लिटिल फ्लावर प्रिमियर लिग’ र सुदूरपश्चिमको टिमबाट यू–१६ राष्ट्रियस्तरको प्रतियोगिता खेलेका छन्।

सचिनले गत जेठमा भएको यू–१९ प्रदेशस्तरीय छनोट प्रतियोगिता खेले। त्यसमा उनी उत्कृष्ट बलर भए। उनले चार वटा खेलमा १८ वटा विकेट लिएका थिए।

नरेन र सचिनलाई दाजु जयरामले क्रिकेट खेल्न सबै किसिमको सहयोग गरेका छन्।

उनीहरूकी आमा क्रिकेट खेलबारे अन्जान छिन्। बुबा भने छोराहरू खेलाडी भएकाले क्रिकेट हेर्छन्।

नरेन दाजुले गरेको सहयोगप्रति कृतज्ञ छन्।

‘क्रिकेटमा दाजुको एउटा सपना थियो तर निरन्तरता दिन सक्नुभएन। उहाँको सपना पूरा गर्ने मेरो अठोट छ,’ नरेन भन्छन्, ‘म त क्रकेटबिना बाँच्नै सक्दिनँ। अझै धेरै सिक्छु, धेरै खेल्छु।’

जति धेरै घरेलु प्रतियोगिता भयो खेलाडी उति राम्रो हुन्छ भन्ने उनको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply