सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

धनगढी, भदौ २०
सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका १३ वटै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको हो । त्यसका लागि १३ वटै विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीहरूसँग असोजको पहिलो हप्ता बैठक डाकिएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले सबै विश्वविद्यालयमा एउटै खालका शैक्षिक क्यालेन्डर लागू गर्न लागेको बताइन् । असोजको पहिलो साता सबै उपकुलपतिहरूलाई बोलाएर यो विषयमा छलफल गर्न लागिएको उनको भनाइ छ ।

‘हाम्रा विश्वविद्यालयमा फरक फरक समयमा पठनपाठन हुने, फरक समयमा परीक्षा हुने, नतिजा पनि फरक समयमा हुने गरेका छन् । जसले गर्दा विद्यार्थीहरू मर्कामा परिरहेका छन् । अब १३ वटै विश्वविद्यालयका लागि नेशनल क्यालेन्डर बनाएर अघि बढ्छौँ,’ मन्त्री भट्टराईले भनिन् ।

विश्वविद्यालयका विषयमा नकारात्मक धारणा फैलाउने काम भइरहेको बताउँदै उनले विश्वविद्यालयमा पढ्ने भन्दा गुण्डागर्दीतिर लाग्ने गरेको बताइन् ।

विश्वविद्यालयमा देखिएका तमाम समस्या समाधानका लागि शिक्षा मन्त्रालय र आफू निरन्तर रूपमा लागिरहेको उनको भनाइ छ । विश्वविद्यालयको अवस्था सुधार नहुँदा विद्यार्थीहरू विदेश पलायन हुने समस्या देखिएको बताउँदै त्यसका लागि विद्यमान समस्याको समाधानतिर लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply