यसकारण खतरामा छ काठमाडौ उपत्यकाको खाल्डो !

९ मङ्सिर धनगढी
नेपालको सङ्घीय राजधानी काठमाडौं एक सुन्दर शहरको रूपमा विश्वमै चिनिन्छ । तर जति नै सुन्दर देखिएपनि पछिल्ला दशकमा यस शहरले जे-जस्ता अप्राकृतिक ताण्डव ब्यहोर्दै आएको छ, यसले काठमाडौंलाई दीर्घकालीन बसोबासका हिसाबले असुरक्षित स्थान तुल्याउने खतरा बढेको छ । विज्ञजनहरूको कुरा मान्ने हो भने काठमाडौ शहर भावी कुनै समयमा भास्सिने र जलमग्न हुन गई अकल्पनीय क्षति ब्यहोर्नुपर्ने नियतिको शिकार हुनसक्ने पर्याप्त आधार रहेका छन् ।

किम्वदन्तीअनुसार काठमाडौं एउटा ठूलो पोखरीको रूपमा रहेको थियो । सो तलाउमा स्वयम्भूको अद्वित्तिय उज्यालो अवलोकन गर्ने सौभाग्य प्राप्त गरेका मन्जुश्रीले चोभारडाँडालाई आफ्नो खड्गको प्रहारबाट प्वाल पारी दहको पानी बगाइदिएपछि हालको काठमाडौंमा बस्ती बस्न शुरु गरेको हो । त्यसपश्चात् काठमाडौलाई केन्द्र मानेर गोपाल तथा महिषपालहरूले करिव ५६१ वर्ष र किराँतहरुले एक हजार वर्ष राज्य गरेको इतिहासकारहरूले उल्लेख गर्दैआएका छन् । किराँतपश्चात लिच्छवी, मल्ल, शाह, राणा, प्रथम प्रजातन्त्र, पञ्चायत, दोस्रो प्रजातन्त्र हुँदै अहिलेको व्यवस्थासम्म आइपुग्दा पनि काठमाडौंलाई सुरक्षित शहर बनाउनेतर्फ ठोस ध्यान पुगेको देखिँदैन ।

देवादिदेव महादेवदेखि अन्य देवीदेवताहरूको बासस्थान रहेको मानिने काठमाडौ शहर कुनैदिन संसार विनाशको शुरुवाती बिन्दु बन्ने आँकलन गर्न नसकिने अवस्था रहेन । हाल करिव ६० लाख मनुष्य बसोबास गर्ने काठमाडौंलाई जोगाउने हो भने केही महत्वपूर्ण कार्यको शुरुवात तत्काल गर्नुपर्ने देखिन्छ । काठमाडौं शहरभित्र अपवादबाहेक हरेक घरपरिवारले जमिन सतहको पानी बोरिङ गरेर निकाल्ने गरेको पाइन्छ । यही क्रमले निरन्तरता पाएमा अबको केही विर्षभित्रै काठमाडौंका अधिकांश स्थान भास्सिन पुगी खर्बौंको क्षति ब्यहोर्नुपर्ने परिस्थिति आइलाग्न सक्छ । करोडौं-अर्बौं खर्च गरेर ठड्याइएका सुन्दर अग्ला भवन-संरचना आधा इञ्चमात्र जमिन भासियो भनेपनि अकल्पनीये नोक्सानी ब्यहोर्नुपर्ने कुरामा सन्देह राख्नैपर्दैन । यस्तै, काठमाडौं शहरको शिरमा रहेको सुन्दरीजलको डयाम कुनै दिन फुट्यो भने त्यसको परिणाम के हुन्छ भन्ने विषयमा पनि बेलैमा सोचेर आवश्यक कदम उठाउनु बुद्धिमानी कार्य ठहरिनेछ ।

काठमाडौंमा रहेको बागमती नदीको मुहानलाई वागद्वार भनिन्छ । तारेभिरको पारिपट्टी सिन्धुपाल्चोक अर्थात् मेलम्चीको मुहान र वारिपट्टी बागमती नदीको मुहान रहेको छ । तारेभिरबाट काठमाडौं शहरमा बगेकी बागमती नदीलाई गोकर्णेश्वर नगरपालिकामा रहेको गोर्केणेश्वर महादेव मन्दिरदेखि करिव सय मिटरअगाडि खुट्टाले नाघ्न सकिने जमिन उपलब्ध गराइएको छ । कारणवश एक/दुईवटा रुखहरू माथिदेखि बगाएर ल्याइ उक्त स्थान ब्लक हुने हो भने स्थिति भयावह बन्नेछ । नख्खु, मनोहरा र धोवीखोला लगायतका खोला तथा काठमाडौंभित्रको सम्पूर्ण पानी बागमतीमा मिसिएर उपत्यकाबाहिर निस्कने एकमात्र स्थान चोभारडाँडा मात्रै हो । प्राचीनकालमा मन्जुश्रीले तत्कालीन आवश्यकता मध्यनजर गरी सिर्जना गरेको पानी बग्ने प्वाल अहिलेको अवस्थामा अत्यन्तै सानो हो । गत असोज महिनामा तीन दिनको वर्षाले काठमाडौंलाई पुऱ्याएको क्षति र अन्य क्षतिको मुल कारण पनि चोभारबाट सहज तवरले चाहेजति पानी पास हुन ढिलाइ हुनु हो ।

बागमती नदीलाई गोर्कर्णेश्वर महादेवको मन्दिरदेखि नारायणटारसम्म हल्का नियालेर हेर्ने हो भने वारिपारि आवतजावतका लागि बनाइएका पुलदेखि करिव एक/दुई मिटरको गहिराइमा पानी बगेको देख्न सकिन्छ । यस्तो अवस्थामा बागमतीमा थुप्रिएको बालुवालाई निस्कासन गरी जतिसक्दो गहिरो र चौडाइमा नदी बग्न दिने हो भने भविष्यमा हुने जोखिमबाट बच्न सकिने छ । राज्यले चाहेमा कुनै कुरा असम्भव नभएकोले नेपाली सेना वा छिमेकी मुलुकको सहयोग लिएर भएपनि गोकर्णेश्वर महादेव मन्दिरदेखि अगाडि र चोभारडाँडालाई सुधार गर्नेतर्फ ध्यान पुऱ्याएमा काठमाडौं उपत्यकाका बासिन्दा अप्रत्यासित भुक्तमान ब्यहोर्नुबाट जोगिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply