चुरेमा चरन क्षेत्र घट्दै, बाख्रा पालक किसान समस्यामा

माघ १० धनगढी

चुरे क्षेत्रमा बाख्रा पालनका लागि सहज मानिए पनि चरन क्षेत्र घट्दै जाँदा किसान समस्यामा पर्न थालेका छन् । चरन मै निर्भर रहेर बाख्रा पालन गरिरहेका किसानहरू बाख्रा चराउन घाँसको अभाव हुन थालेपछि समस्यामा पर्न थालेका हुन् । गोदावरी नगरपालिका – ४ सिमलगौरामा बाख्रा पालन गर्दै आएकी शोभा बोहराले चरन क्षेत्र घट्दै जाँदा बाख्रा पालन गर्न समस्या भएको बताइन् । उनले पछिल्लो समय गाउँमा बाख्रा पालन गर्नेको सङ्ख्या बढेपछि चरनको समस्या भएको बताइन् । ‘बाख्रा पालन धेरै भएर घाँसको समस्या हुन थालेको छ’ उनले भनिन् ‘भुईँमा केही पनि घाँस छैन । रुखमा चढ्न सक्नेले काटेर खुवाउन्छन ।’ उनले बाख्राको लागि घाँस रोप्ने चलन खासै नभएको बताइन् ।

पछिल्लो समय केही किसानले डाले घाँसका बिरुवा रोपेको भए पनि अझै नफस्टाएको बताइन् । गोदावरी नगरपालिका – ४ सिमलगौरा, दामदरे, फुलबस्ती क्षेत्रका २४ जना किसान समूहमा आबद्ध भएर बाख्रा पालन गर्दै आएका छन् । परम्परागत रूपमा सो क्षेत्रमा बाख्रा पालन गरिँदै आएको भए पनि पछिल्लो समय उनीहरू व्यवसायीक रूपमा बाख्रा पालन तर्फ उन्मुख भए पनि चरनको समस्या भोग्दै आएका छन् ।

भगवती बाख्रा पालन किसान समूहकी उपाध्यक्ष समेत रहेकी शोभा बोहराले बाख्रा पालेर घर चलाउन सहयोग पुगेको बताइन् । ३३ वटा बाख्रा पालन गरेकी उनले २ वर्ष यता व्यवसायीक रूपमा बाख्रा पालन गरिरहेको बताइन् । उनले बाख्रा पालनका लागि गत वर्ष निड्स नेपालले एक महिनाको तालिम र खोर सुधारका लागि सामग्री सहयोग गरेपछि सहज भएको बताइन् ।

‘निड्सले बाख्रा खोरका लागि टिन, औषधी, घाँसका बोट, घाँस काट्ने मेसिन पनि अनुदानमा दिएको छ । हामीले १ महिने तालिम पनि पाएका थियौ’ उनले भनिन् ‘तालिम पाएपछि बाख्रामा कुनै रोग देखिएमा आफै पनि पहिचान गर्न सक्ने भएका छौ ।’ उनले गाउँ सम्म सडक पुगे पनि गाडी नचल्दा बाख्राको लागि औषधी किन्न हिँडेरै अत्तरिया बजार सम्म आउनु पर्ने बाध्यता रहेको बताइन् । उनले हिँडेर आउँदा दिनभरि लाग्ने भएकाले गाउँमै भेटनरी भए सहज हुने बताइन् ।

‘बाख्रा पालनको लागि यसै क्षेत्रमा भेटनरी या पशु कार्यालय भए सहज हुने थियो । सामान्य बाख्रा बिरामी हुँदा पनि अत्तरिया धाउनु पर्छ । त्यहाँ जाँदा दिनभरि लाग्छ’ उनले भनिन् ‘नगरपालिकामा आउन भन्छन् । नगरपालिकामा गए औषधी नै पाइँदैन ।’ दामदरेका गणेश बहादुर रोकामगरले बाख्रा पालनका लागि कहिलेकाहीँ संघसस्थाबाट सहयोग पाए पनि राज्यबाट खासै सहयोग नभएको बताए । उनले भने ‘२५/३० बाख्रा पालेको छु । संस्थाबाट सहयोग भए पनि सरकारले कुनै सहयोग गरेको छैन ।’ उनले बाख्रा पालनबाट राम्रै आम्दानी हुने गरेको बताए ।

उनले वर्षमा ८/१० वटा बाख्रा बिक्री गर्न सकिए पनि घर खर्च चलाउन सहज हुने बताए । उनले बाख्राको मुख्य बजार अत्तरिया रहेको बताए । बाख्रा व्यापारी गाउँमै आएर पनि खरिद गर्ने गरेको उनले बताए । उनले पछिल्लो समय बाख्रा पालनको लागि चरन क्षेत्र अभाव हुँदा भने समस्या भएको बताए । उनले घर नजिक चरनको समस्या हुँदा टाढा जंगलमै बाख्रा बाँधेर उतै चराउने गरेको बताए ।

स्थानीय कलावती दलामीमगरले चुरेमा बाख्रा पालनको राम्रो सम्भावना भएको बताइन् । तर, पछिल्लो समय चरनकै समस्याका कारण बाख्रा पालन गर्न समस्या हुने गरेको बताइन् । उनले पहिले डाँडामा जताततै घाँस उम्रिने गरेको भए पनि पछिल्लो समय घाँस उम्रिनै छोडेको बताइन् । पछिल्लो समय चुरेमा बाढी पहिरोले पनि चरन क्षेत्र घट्दै गएको छ । अन्धाधुन्ध खनिएका सडकका कारण चुरेका डाँडा उजाड बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply