फागुन १ धनगढी
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले देशमा भएको युगान्तकारी परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
आज ३० औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र धनगढी उपमहानगर कमिटी आयोजना गरेको रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘महान जनयुद्धले नेपाली समाजको युगान्तकारी परिवर्तनको एउटा अध्याय पूरा गरेको छ । युगान्तकारी परिवर्तनको दस्तावेजको रुपमा हामीसँग संविधान छ । गणतन्त्र संघीयता,धर्मनिरपेक्षता,समानुपातिक समावेशीता,समाजवाद उन्मुखता,यी उपलब्धी सहित मूलक एउटा हिसाबले अगाडि बढिरहेको छ ।’
उनले जनयुद्ध दिवस एउटा उल्लास र उत्सव भएको बताए । उनले भने ‘हजारौं जनताको सामेलमा, जनमुक्ति सेना,पार्टीका नेतृत्व सबैको यसमा भूमिका रह्यो । जनयुद्ध विरता,सौर्य,पराक्रम्प र विचारको नाम हो । आजको दिन महान सहिदलाई सम्झना गर्ने दिन हो ।’
जनयुद्धले सगरमाथाको देशबाट नेपाललाई नयाँ ढंगले चिनाउने मात्र होइन् विश्व सर्वाहरा बर्गले नेपालप्रति ठूलो भरोशा र आशा गर्ने अवस्था भएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जनयुद्धकै कारण आज देशमा परिवर्तन आएको बताए । उनले वैज्ञानिक समाजवादी क्रान्ति अझै बाँकी रहेको बताउँदै यो व्यवस्थालाई नयाँ बाटोमा लैजान जनयुद्ध दिवसलाई सम्झन जरुरी रहेको बताए ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता अक्कल रावलले देशमा लोकतान्त्रिक गणतन्त्र जनयुद्धको जगामा स्थापित भएको बताए । जनयुद्धले ल्याएको व्यवस्था भोगचलन गरिरहेकाले जनयुद्धको विरोध गरिरहेको बताउँदै उनले सगौरव जनयुद्ध दिवस मनाउन आवश्यक भएको बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य शान्ति नेपालीले जनयुद्ध दिवस ऐतिहासिक दिवस भएको बताउँदै जनयुद्धले एउटा इतिहास निर्माण गरेको बताइन् । उनले भनिन् गणतन्त्र संघीयता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशीता जनयुद्धकै कारण स्थापित भएको बताइन् ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू लोकेन्द्र लम्साल,लक्ष्मीदत्त जोशी,रमेशसिंह धामी,ललितसिंह ठगुन्ना,देवकी मल्ल,निर्मला जाेशी, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष अक्कल रावल,दीपेन्द्र कुँवर, माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।
माओवादी केन्द्र धनगढी उपमहानगर कमिटी अध्यक्ष बलबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए ।