वर्तमान उपलब्धिको जग जनयुद्ध हो : इन्चार्ज चौधरी

फागुन १ धनगढी
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नेपबहादुर चौधरी (सिंहराज) ले वर्तमान उपलब्धिको जग जनयुद्ध भएको बताएका छन् ।
३० औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र टीकापुर नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रम, सहिद बेपत्ता परिवारलाई सम्मान तथा सहिदहरुको सम्झनामा भएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधनका क्रममा पार्टीका कैलाली जिल्ला इन्चार्ज चौधरील जनयुद्धको जगमा नै अहिलेको व्यवस्था स्थापित भएको बताएका हुन । “जनयुद्ध नभएको भए आज संघीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पनासम्म गर्न सकिन्थ्यो ।” उनले भने, “जनयुद्धकै जगमा जहानिया राज्यसत्ता समाप्त भयो, लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, देश संघीयतामा गयो, नागरिकहरूले स्वतन्त्रताको महसुस गर्न सके ।”
उनले वर्गविभाजनको अन्त्य नभएसम्म जनयुद्धमा ज्यान गुमाएका हजारौं सहिदको सपना साकार नहुने बताएका छन् । वर्गविभाजनको अन्त्य नभएसम्म वर्ग संघर्ष निरन्तर रहनेमा पनि चौधरीले जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चौधरीले केही प्रतिक्रियावादीहरुले जनताको माझमा जनयुद्ध शब्दको गलत व्याख्या गरिरहेको बताउँदै त्यसमा नागरिकहरू सजग हुनुपर्ने बताए । “पुरानो व्यवस्थामा रमाउन पल्केकाहरु जनयुद्धलाई हिंसाको रुपमा व्याख्या गरिरहेका छन् । त्यहीँ जनयुद्धको जगबाट भएका उपलब्धिका आधारमा देशको नेतृत्व गर्न पाएका छौँ भन्ने बिर्सेका छन् ।” उनले भने, “त्यस्ता गलत अपव्याख्यालाई चिर्दै नेपाली समाजमा भएका परिवर्तनमा पुनः हातेमालो गरेर अगाडि बढ्नुपर्ने बेला आएको छ ।”

पार्टीका केन्द्रिय सदस्य हरि ज्ञवाली (अखण्ड) ले पनि अहिलेको व्यवस्था जनयुद्धको जगमा स्थापित भएको बताएका छन् । उनले नेकपा माओवादीले तत्कालीन समयमा सामन्ती सत्ताको अन्त्य गर्दै जनताको व्यवस्थाका लागि जनयुद्ध नगरेको यो व्यवस्था कल्पनामा सिमित हुने बताए । उनले देशलाई अध्यादेश मार्फत चलाउन पल्केकाहरु अझै पनि जनताको व्यवस्था माथी प्रहार गरिरहेको बताए । “त्यहीँ नीति नियम बनाउनका लागि जनताले आफ्नो क्षेत्रबाट प्रतिनिधि चुनेर संसदमा पठाएका छन् । आज त्यहीँ संसदलाई छलेर अध्यादेश मार्फत देश सञ्चालन गर्न खोजिदैछ ।” उनले भने, “यदि अध्यादेशबाटै देश चलाउने भए किन संसद चाहियो ? किन जनताका प्रतिनिधि आवश्यक परे ?”

कार्यक्रममा बोल्दै ज्ञवालीले सुशासनको पक्षमा निवर्तमान सरकारले काम गर्न थालेपछि केही शक्तिलाई अप्ठ्यारो हुँदा सरकार ढलेको बताएका छन् । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेशका अध्यक्ष, प्रदेश पदाधिकारी तथा पार्टीका शुभेच्छुकहरुको सहभागिता रहेको थियो । नगर अध्यक्ष धनसिंह साउँदको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरिएको छ । साथै सोही अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोग रहेको थियो ।
साथै ३० औं जनयुद्ध दिवसको अवसरमा सहिदको सम्झनामा खडक चोकमा दिप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन नगर उपाध्यक्ष विमला बटाला थापाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply