धनगढीमा सात सडक निर्माण सम्पन्न, रेलिङ्ग जडान बाँकी

वैशाख ७ धनगढी
धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रमा निर्माणाधीन सातवटा सडकको कालोपत्रे काम सम्पन्न भएको छ। तर, रेलिङ्ग, मर्मत–सुधार र खानेपानी जडानको काम अझै बाँकी छ।

२०७७ असार २८ गते कालिका कन्स्ट्रक्सनसँग सम्झौता भई सुरु भएको यो आयोजनाले १० किलोमिटर सडक निर्माणको जिम्मा पाएको थियो। काम सुरु भएपनि विभिन्न प्राविधिक र प्रशासनिक समस्याले गर्दा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ।

सडकको अवस्थाः कालोपत्रे सम्पन्न, रेलिङ्ग बाँकी

सडकको कालोपत्रे काम सकिएको भएपनि दुबै तर्फ रेलिङ्ग जडान हुन बाँकी रहेको र अहिले आयोजना मर्मत–सुधारको चरणमा प्रवेश गरेको जानकारी दिइएको छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलका अनुसार खानेपानी पाइप विस्तार भएको भएपनि पानी जडान गर्ने काम खानेपानी संस्थानले गर्ने हो।

एशियाली विकास बैंकको सहयोग

यो आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गतको हो। सुरुवाती योजना ४२ किलोमिटर सडक निर्माण गर्ने भए पनि क्षेत्राधिकार विवाद र बजेट अभावका कारण प्रारम्भमा १० किलोमिटर मात्र ठेक्का गरिएको थियो।

धनगढीमा हालसम्म निम्न सडकहरूको कालोपत्रे काम सम्पन्न भएको छः

ट्राफिक चौराहा–कैलाली पुल (१.३८ किमी)

गुल्म–चर्च सडक (२.७ किमी)

हुलाकी सडक–जाखोर ताल (७०० मि)

क्याम्पस गेट–चटकपुर (३.६५ किमी)

धनगढी–खुटिया–स्याउले (८७० मि)

मालपोत सडक (४३० मि)

हसनपुर सडक (१.१५ किमी)


विद्युतीकरणले थपेको आकर्षण

सडक निर्माणसँगै धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा विद्युतीकरणको कामसमेत सम्पन्न गरेको छ। अब रातको समयमा धनगढीका सडकहरू झिलिमिली देखिन्छन्, जसले शहरको सौन्दर्यमा थप आकर्षण दिएको छ।

धनगढीका इन्जिनियर पुष्प भट्टका अनुसार यो आयोजना अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ठेक्का भएकाले मर्मत–सम्भार अवधि समेत छुट्याइएको छ। बाँकी काम एक वर्षभित्र सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गरिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply