वैशाख ८ धनगढी — भारतको झारखण्डमा सम्पन्न दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलो स्थान हासिल गरेको छ। बैशाख ५ देखि ७ गतेसम्म चलेको प्रतियोगितामा सहभागी चार राष्ट्रहरुमध्ये नेपालले सबैभन्दा बढी ५४ पदक जित्दै अग्रता जमाएको हो।
भारत दोस्रो, मलेसिया तेस्रो र भुटान चौथो स्थानमा रहेका प्रतियोगितामा नेपालबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका खेलाडीहरूले सहभागिता जनाएका थिए।
बाजुराको ऐतिहासिक कीर्तिमान
देश बाहिर पहिलोपटक प्रतिनिधित्व गर्दै बाजुराबाट सहभागी ८ जना खेलाडीले १६ पदकमध्ये १२ स्वर्ण, २ रजत र १ कास्य जितेर नया इतिहास रचेका छन्। खप्तड छेडेदह गाउँपालिकाका खेलाडीहरूको टोली नरेन्द्र ओलीको नेतृत्वमा प्रतियोगितामा सहभागी भएको हो।
तीन दशकदेखि कराँते प्रशिक्षक र अन्तराष्ट्रिय रेफ्री रहेका ओलीले प्रतियोगितामा रेफ्रीको भूमिका समेत निर्वाह गरे र उत्कृष्ट रेफ्रीको अवार्ड समेत जिते। गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले अन्तराष्ट्रिय प्रतियोगितामा बाजुराको उपस्थिति ऐतिहासिक उपलब्धी भएको बताए।
स्वर्णपदक विजेता खेलाडीहरू:
शुशिल कठायत (५५ केजी): काता र कुमुते दुबैमा स्वर्ण
अमृत बुढा (६० केजी): काता र कुमुते दुबैमा स्वर्ण
अमित रावत (५० केजी): काता र कुमुते दुबैमा स्वर्ण
शुभम रावत (४५ केजी): काता र कुमुते दुबैमा स्वर्ण
गीता कुमारी कठायत (५० केजी): काता र कुमुते दुबैमा स्वर्ण
रमा रावत (६० केजी): १ स्वर्ण, १ रजत
सरिता कुमारी सुनार (४५ केजी): १ रजत, १ कास्य
सुरेन्द्र कुमारी रावत (४० केजी): १ स्वर्ण, १ रजत
उदाउँदो खेल चेतना
दुर्गम सुदूरपश्चिममा खेल क्षेत्रमा पछिल्लो समय उल्लेख्य विकास देखिएको छ। युवा पुस्ताको खेलप्रति चासो र सक्रियताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति जनाउन थालेको छ। स्रोतसाधनको अभावबीच पनि अभ्यास र लगावले खेल क्षेत्रलाई उज्यालो बनाइरहेको छ।
बाजुरामा पनि खेलकुद जागृति
पहिले राष्ट्रपति रनिङ शिल्डसम्म सीमित रहेको बाजुरामा अहिले गोल्डकपदेखि क्षेत्रीय क्रिकेट प्रतियोगितासम्म आयोजना हुन थालेका छन्। यस्ता अभ्यासहरुले भविष्यमा अझ ठूलो सफलता ल्याउने अपेक्षा गरिएको छ।
