गणेश क्षेत्री
वैशाख ११ धनगढी
टीकापुर, कैलाली – बैशाख ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आज बिहीबारदेखि विधिवत रूपमा सुरु गरिएको छ। रामजानकी मन्दिर परिसरमा आयोजित महायज्ञको उद्घाटन समारोह संयोजक लोकबहादुर बुढा क्षेत्रीको सभापतित्वमा सम्पन्न भयो।
समारोहका प्रमुख अतिथि टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा रहनुभयो। उहाँले गौमाता संरक्षणका लागि महायज्ञको आयोजना धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्दै, यसले धार्मिकता जागृत गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नगरपालिका सधैं पशु चौपायाको संरक्षण र धार्मिक कार्यमा सकारात्मक रहेको र सक्दो सहयोग गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने र वडा नं. ८ का अध्यक्ष दीर्घ ठकुल्ला उपस्थित हुनुहुन्थ्यो।
महायज्ञको शुभारम्भ रामजानकी मन्दिरदेखि कर्णाली नदीसम्मको कलश यात्राबाट गरिएको थियो। “जय श्रीराम”, “गौ माता की जय”, “नेपाल आमाको जय”, “भागवत भगवानको जय” जस्ता नारासहित ५ सयभन्दा बढी भक्तजन सहभागी थिए। उक्त यात्रामा मातृशक्ति महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, सहभागीमध्ये झन्डै ८५ प्रतिशत महिला भक्तजन थिए।
आज सन्ध्या ७ बजेदेखि महात्म्य भजन, सत्सङ्ग तथा दिव्य झाँकी कार्यक्रमहरू हुने गुरुजि हरिकृष्ण महाराजले जानकारी दिनुभयो।
कथावाचन अन्तर्राष्ट्रिय स्तरकी बाल विदुषी देवी भवानी ज्युको मुखारबिन्दबाट हुने संयोजक लोकबहादुर बुढा क्षेत्रीले जानकारी दिनुभयो। कथामा मानव जीवनको तत्व र दिशादर्शन सम्बन्धी महत्वपूर्ण सन्देश प्रस्तुत गरिनेछ।
सोही अवसरमा काठमाडौंकी समाजसेवी पूर्णिमा श्रेष्ठले गौशालाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा महायज्ञका लागि ५ हजार ५ सय ५५ रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमको स्वागत रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेश रावलले गर्नुभएको थियो भने सञ्चालन ज्ञानबहादुर रावलले गर्नुभएको थियो।