वैशाख १२ धनगढी
कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे महोत्सव हुने भएको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही बैशाख १८ गतेदेखि २० गतेसम्म महोत्सव हुने भएको हो ।
शुक्रबार आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सवमा प्रत्येक दिन सुदूरपश्चिमका विभिन्न जातजाति तथा समुदायहरुको नाचगानसहितको झाँकी प्रस्तुत गरिने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिमका विभिन्न रैथाने परिकारको प्रदर्शनी सँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने,थारु हस्तकलाको प्रदर्शनी गरिने छ ।
होमस्टे महासंघ नेपाल सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले महोत्सवमा प्रदेशभरिका होमस्टेकर्मी तथा अभियान्ताहरुको उपस्थिति रहने बताए । महोत्सवले पर्यटन प्रवर्धनमा टेवा पुग्ने उनले बताए । महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रदेशकाे उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिन लागेको जनाइएको छ ।