अण्डाको मूल्य बढाउने निर्णय

वैशाख १४ धनगढी
पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । उपभोक्तालाई भने यसबाट मर्का परेको छ ।

गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । अहिले मूल्य वृद्धि भएर रु चार सय ५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आज (१४ वैशमख)बाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटा)को रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु तीन सय ५० मा झरेको थियो । सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए ।

एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी रु तीन हजार छ सय ७५ सम्म पुगेको थियो । सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनले भनेका छन्, ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।’

उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply