कैलाली, २१ बैशाख —
ऐतिहासिक भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर ले ज गुरमीत सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
साताव्यापी भारत भ्रमणको पाँचौं दिन शनिबार मुख्यमन्त्री शाहले उत्तराखण्डका समकक्षी र गभर्नरसँग भेट गर्दै दुबै देशबीचको पारस्परिक सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषयमा छलफल गरेका हुन्। बैठकमा वर्षौंदेखिको आपसी एकता र विश्वासलाई अझ बलियो बनाउने विषयमा समेत विशेष जोड दिइएको थियो।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि भारत सरकारसँग सहकार्य गर्न आग्रह गरेका थिए। उत्तराखण्डका मुख्यमन्त्री धामीले सुदूरपश्चिमको आर्थिक, सामाजिक, ऊर्जा, प्राविधिक र धार्मिक पर्यटन प्रवर्द्धन तथा विकासका लागि भारत सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
शनिबार नै मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए।
मुख्यमन्त्री शाहको नेतृत्वमा रहेको १० सदस्यीय प्रतिनिधिमण्डल बैशाख १६ गते भारत प्रस्थान गरेको हो। टोली बैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने कार्यक्रम छ।
