बुटवलमा ३ करोडको करछली, कपिलवस्तुका ४ जनामाथि मुद्दा

रुपन्देही । धनगढी २५ बैशाख
आन्तरिक राजस्व कार्यालय बुटवलले कर छली र विदेशी मुद्राको अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ।

बुटवल उपमहानगरपालिका–६, राधाकृष्णपथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाँविरुद्ध तीन करोडभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार मुद्दा दायर गरिएको हो।

राजस्व कार्यालयका प्रमुख राजस्व अधिकृत विवेक घिमिरेका अनुसार मियाँले १ करोड ५५ लाख ६६ हजार २८१ रुपैयाँ बराबरको कर छलेको पाइएपछि सोही बराबरको जरिवाना समेत मागदाबी गर्दै जम्मा ३ करोड ११ लाख ३२ हजार ५६२ रुपैयाँ असुल उपर गर्नुपर्ने मागसहित मुद्दा दर्ता गरिएको हो। साथै, कानुन बमोजिम कैद सजाय पनि माग गरिएको छ।

यसैबीच, कार्यालयले विदेशी विनिमय अपचलन सम्बन्धी अभियोगमा कपिलवस्तुका चार जनाविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

अनुसन्धानका क्रममा भारतबाट अवैध रूपमा भारतीय मुद्रा नेपाल भित्र्याएको पुष्टि भएपछि कपिलवस्तु शुद्धोधन–६, बिमिहाका राजेशकुमार बर्मा (३५), राकेशकुमार बर्मा (२६), मायादेवी–१, इमिलियाका हमीद मुसलमान (२८) र शुद्धोधन–६, बिमिहाका जंगबहादुर बर्मा उर्फ सोनार (५६) विरुद्ध मुद्दा दर्ता गरिएको हो।

उनीहरूबाट ५०० दरका ४२३६ थान (रु २१,१८,०००) र २०० दरका १०० थान (रु २०,०००) गरी कुल २१ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद भएको थियो। नेपाल राष्ट्र बैंकको विनिमय दरअनुसार यस रकमको नेपाली मूल्य ३४ लाख २४ हजार ७ रुपैयाँ कायम गरिएको छ।

साथै, भारतीय नम्बर प्लेट भएको युपी५५ एम०४५९ नम्बरको सवारीसाधन विदेशी मुद्राको अवैध ओसारपसारमा प्रयोग भएको पुष्टि भएकाले उक्त गाडीलाई ‘कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ को दफा ११ अनुसार जफत गर्न माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply