रैकवार खबर
३१ बैशाख धनगढी – जातीय, वर्गीय र धार्मिक विभेदविरुद्ध दृढ अडान लिँदै नेपाल र भारतभरि दलित समुदायका लागि निरन्तर धार्मिक सेवा पुर्याउँदै आएका छन् पञ्चाङ्गकार तथा ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त। बैतडीको खोडपे, जसुलीखाल निवासी पन्तले विगत दुई दशकदेखि वैदिक परम्पराअनुसार कुनै भेदभाव नगरी हजारौँ धार्मिक अनुष्ठान सम्पन्न गरिसकेका छन्।
पण्डित पन्तले जन्मदेखि मृत्युसम्म गरिने समस्त धार्मिक कर्मकाण्डहरू—श्राद्ध, नामकरण, व्रतबन्ध, विवाह, अन्नप्राशन, मृत्यु संस्कार, ग्रहशान्ति, सत्यनारायण पूजा, हवन, रामायण पाठ लगायतका कार्यहरू—दलित समुदायका लागि विशेष ध्यान दिएर गरिरहेका छन्। अहिलेसम्म उहाँले ३११ श्राद्ध, १२०० नामकरण, ३०० अन्नप्राशन, ५२ मृत्यु संस्कार, ४७ विवाह, तथा ११७ सत्यनारायण पूजाहरू सम्पन्न गरिसक्नुभएको छ।
नेपालभरिका विभिन्न जिल्लासहित भारतको उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, हरियाणा र बिहारका दलित बस्तीहरूमा पुगेर उहाँले समावेशी वैदिक परम्परा अनुरूप धार्मिक सेवा दिनुभएको छ। पण्डित पन्तका अनुसार, “धर्म कुनै जात वा वर्गको मात्रै हैन, यो सबैको लागि हो।”
हालै पोखरामा आयोजित ३ दिने जातीय विभेदविरुद्धको गोष्ठी, जसमा ३७५ जना सहभागी र १,१७५ जनाको उपस्थितिमा महारुद्राभिषेक, नवचण्डी पाठ र सामूहिक हवन सम्पन्न भयो, त्यो पण्डित पन्तको समावेशी दृष्टिकोणको प्रत्यक्ष प्रमाण हो।
नेपाल सरकारको सहयोगमा बैतडीमा आयोजना गरिएको सातदिने योग शिविर र समावेशी हवनात्मक यज्ञ समेत उहाँकै अगुवाइमा सम्पन्न भएको थियो। बाँकी दर्जनौँ कार्यक्रमहरू उहाँले आफ्नै खर्च र पहलमा सञ्चालन गर्दै आएका छन्।
दलित समुदायले उहाँलाई “दोस्रो भीमदत्त” को सम्मान दिएको छ, जसले पण्डित पन्तको सामाजिक न्यायप्रतिको प्रतिबद्धता झल्काउँछ। उहाँका कार्यहरू देश-विदेशका अनलाइन तथा पत्रपत्रिकाहरूमा प्रमुख समाचारको रूपमा प्रकाशित भइरहेका छन्।