जेठ २५ धनगढी
बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुराका आगलागी प्रभावितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट प्रभावित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । उनका अनुसार आगलागीको थप विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्ने छ ।
मानवीय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउँने र पालिकाले मापदण्ड तयार गरेर आगलागी प्रभावितलाई रकम उपलब्ध गराउने उनले बताए । जेष्ठ २३ गते बाजुराको बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो । साथै प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।