जेठ ३१ धनगढी –
कैलालीको गौरीफन्टा नाकामा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिवार निड्स नेपालले÷पहुँच परियोजना अन्तरगत पुनर्वास नगरपालिका सँगको समन्वयमा त्रिनगर हेल्थ डेस्कमा निःशुल्क शिविर आयोजना गरेको हो ।
पहुँच परियोजनाका संयोजक विनोद कडाराले गर्मीलाई ध्यानमा दिएर श्रमिकहरूको मागका आधारमा शिविर आयोजना गरिएको बताए । उनले रिक्सा, अटो, बस चालक, क्यारिङ गर्नेहरू निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताए ।
शिविरमा डा. शङ्कर अधिकारीले बिरामीको चेकजाँच गरेका थिए । उनले चेकजाँचका क्रममा सुगर, प्रेसर, पेट दुख्ने समस्याहरू देखिएको बताए । उनले शिविरमा कतिपय बिरामीले नियमित सुगर, प्रेसरको नियमित स्वास्थ्य परीक्षण गर्न पाएको बताए । उनले गर्मी धेरै भएकाले लु लाग्नबाट जोगिन सकेसम्म गर्मीमा बाहिर ननिस्कने, पर्याप्त मात्रामा झोलिलो कुरा खाने, आराम गर्नुपर्ने बताए ।
धनगढीका नरेश बहादुर सिंहले निःशुल्क स्वास्थ्य शिविर एकदमै लाभदायक भएको बताए । गाडी चालकको काम गर्दै आएका उनले आफूले शिविरमा सुगर, प्रेसर जाँच गराएर औषधी लिएको बताए ।
बिहान ९ देखि दिउँसो ३ बजे सम्म सञ्चालन गरिएको एक दिने शिविरमा ८६ जनाले सेवा लिएका थिए ।