हेमा भट्ट २० असार २०८२
डाेटी-पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ अन्तर्गतको साझघाट क्षेत्रका बासिन्दाहरू अझै पनि आधारभूत पूर्वाधार सुविधाको प्रतीक्षामा छन्। स्थानीय महेश बोगटी, शिक्षक कृष्ण खड्का, समाजसेवी तथा होटल व्यवसायी उत्तरा देवी बोगटीलगायतले RaiKawarKhabar.com लाई जानकारी दिँदै ३ दशक बित्दासमेत खानेपानी, सडक, तटबन्ध, तारबार, सरसफाइ, संरक्षण लगायतका पूर्वाधारमा कुनै उल्लेखनीय सुधार नभएको गुनासो गरेका छन्।
स्थानीयका अनुसार साझघाट क्षेत्रमा खानेपानीको कुलो, ट्यांकी, धारा सबै बनाइएका छन्, तर कुनैमा पानी बग्दैन। वडाबाटै सिफारिस लिएर, गाउँपालिकासम्म पटकपटक गुनासो पुर्याउँदा समेत सुनुवाइ नहुनुमा उनीहरू निराश छन्।
बिना तटबन्ध जोखिममा गाउँको भूभाग
साझघाट नजिकै फुलोटी गाड र गण्डी गाडको दोभानमा तटबन्ध निर्माण नहुँदा बर्खामा बाढीको उच्च जोखिम रहन्छ। स्थानीयहरूका अनुसार वर्षेनी गाडको कटानले खेतबारी र बस्तीमा क्षति पुर्याउने गरेको छ। “तटबन्धको आवश्यकता धेरै पहिलेदेखि हो, तर कहिले पनि पहल भएन,” महेश बोगटीले बताए।
शिक्षा र खेलकुदको पहुँच सीमित:स्थानीय निजी विद्यालयको भवन र मैदान गण्डी गाडसँग जोडिएको भए तापनि सुरक्षा गर्नुपर्ने तारबार हालसम्म नगरिएको स्थानीयको भनाइ छ। बालबालिका र युवाहरूका लागि सुरक्षित वातावरण नहुनु शिक्षा र खेलकुद दुवैका लागि चुनौती बनेको छ।
सजिलोमा बस्न मिल्ने स्वच्छ स्थान, तर चासो छैन: साझघाट क्षेत्र पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर, स्वच्छ र स्वास्थ्यप्रद हावापानी भएको ठाउँ हो। पहाड, खोला, हरियालीले भरिएको यो क्षेत्र पर्यटन सम्भावनासमेत बोकेको देखिन्छ, तर संरक्षण र सरसफाइमा स्थानीय सरकारको ध्यान नपुगेको स्थानीयहरूको भनाइ छ।
स्थानीयको व्यक्तिगत प्रयास, सरकारको बेवास्ता केही बासिन्दाहरूले निजी प्रयासमा तारबार जस्ता सुरक्षात्मक कामहरू गरेका छन्। “हामीले आफ्नो खर्चमा तारबार गरेका छौं, सरकारलाई पटकपटक भनिएको छ, तर अहिलेसम्म कुनै चासो देखिएको छैन,” समाजसेवी उत्तरा देवी बोगटीले बताइन्।
साझघाटका नागरिकहरू गणतन्त्र आएदेखि नै अधिकारको अपेक्षा गरेका छन्, तर व्यावहारिक रूपमा उनीहरूको जीवनमा खासै परिवर्तन आएको छैन। खानेपानीदेखि सरसफाइ, सडकदेखि तटबन्ध र संरक्षणसम्म, पूर्वाधारमा स्थानीय सरकारको ध्यान खिच्न सकेको देखिँदैन। स्थानीयहरूको आवाज अब नीति निर्माण तहमा गम्भीरतापूर्वक सुन्ने बेला भएको छ।