बयालपाटा अस्पताल सञ्चालन अनिश्चित बन्दै

असार २१ धनगढी
अछामको बयालपाटा अस्पताल सञ्चालन अनिश्चित बन्दै गएको छ । बजेट वक्तव्यमार्फत बयालपाटा अस्पताल आफ्नो मातहतमा सञ्चालन गर्ने घोषणा गरिसकेको सुदूरपश्चिम प्रदेश सरकारको सञ्चालन प्रकृया ढिलाइले अनिश्चित हुन थालेको हो ।

सम्पूर्ण सेवा, सुविधा निःशुल्क प्रदान गर्दै आएको देशकै एक मात्र अस्पताल बयालपाटा अस्पताल सञ्चालनमा ढिलाइका कारण बिरामी भर्नालगायत व्यवस्थापनमा समस्या हुन थालेको अस्पतालका प्रमुख डा. मन्दिप पाठकले निशाना न्युजलाई जानकारी दिए ।

उनले अस्पताल सञ्चालनका लागि आवश्यक प्रकृया सुरु गर्नुपर्ने बताउँदै अर्थ मन्त्रालयले प्रकृयामा ढिला सुस्ती गरेको बताए ।
उनले भने ‘यो तरिका हो भने ६ महिनासम्म पनि हुँदैन । त्यो बेलासम्म कसले हेन्डलिङ गर्ने हो अत्तोपत्तो छैन । हामीलाई अनिश्चितता भएको महसुस हुन थालेको छ ।’ प्रदेश सरकारले आफ्नो मातहतमा राख्ने भनेपछि काम कार्बाही छिटो अगाडि बढाउनु पर्ने उनले बताए ।

बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको ‘न्याय हेल्थ नेपाल’ले प्रदेश सरकारबाट आर्थिक सहयोग नपाएपछि प्रदेश सरकारलाई अस्पतालमा बुझाउन बाध्य भएको थियो । प्रदेश सरकारका कर्मचारी र मन्त्री पनि बयालपाटा अस्पताललाई प्रदेशको मातहतमा चलाउन आतुर देखिन्थे । तर बयालपाटा अस्पताल सञ्चालनका लागि आवश्यक प्रकृया पूरा गर्न भने उनीहरु उदासिन छन् ।

एक हप्तादेखि अस्पतालका प्रमुख डा.मन्दिप पाठक र बयालपाटा अस्पतालको टीम मन्त्रालयहरु धाइरहेको छ । अस्पताल सञ्चालनका लागि सहमति माग गर्दै सामाजिक विकास मन्त्रालयले पठाएको पत्र आर्थिक मामिला मन्त्रालयमा थन्किएको छ । साउन १ गते आफ्नो मातहतमा सञ्चालन गर्ने निर्णय गरिसकेको प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक तयारी र प्रकृया भने अहिलेसम्म थालेको छैन् ।

एक हप्तादेखि सहमति पत्रका लागि आर्थिक मामिला मन्त्रालय धाइरहेको बयालपाटाको टीमलाई आर्थिक मन्त्रालयले सामाजिक विकास मन्त्रालय जान भन्छन् । सामाजिक विकास मन्त्रालयमा जादा त्यहाँका कर्मचारीले आर्थिक मन्त्रालयमा जान भन्छन् ।
अस्पतालमा बिरामीको शल्यक्रियामा व्यस्त रहने डा. पाठक एक सातायता मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय र सामाजिक मन्त्रालय धाइरहेका छन् ।

अस्पताल कुनै हालतमा चलोस । बन्द नहोस । बिरामीले दुःख नपाउन भन्ने डा. पाठकको चिन्ता छ । तर प्रदेश सरकारका मन्त्री र कर्मचारीहरुमा अस्पताल सञ्चालन हुने कुरामा कुनै चिन्ता देखिदैन ।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले मन्त्रालय अस्पताल सञ्चालनको प्रकृयामा लागेको बताए । उनले भने ‘कानुनी झन्झट छ । १०/१५ दिन समय लाग्छ ,सञ्चालन हुन्छ । नयाँ संस्थाको स्वामित्व लिन समय त लाग्छ । सञ्चालन प्रकृयाका लागि अर्थ मन्त्रालयमा ड्राफ्ट बनाएर पठाएका छौँ । म यसै काममा व्यवस्त छु ।’

बयालपाटा अस्पतालमा चिकित्सक सहित १२१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै अछामका छ वटा पालिकामा ६५ समुदाय स्वास्थ्य कार्यकर्ता कार्यरत छन् । बयालपाटा अस्पताल सञ्चालनका लागि प्रदेशले ७ करोड ५० लाख र संघीय सरकारले ६ करोड रुपैयाँ विनियोजन गरेपनि अन्य आवश्यक प्रकृया भने अघि नबढ्दा अस्पताल सञ्चालनमा अनिश्चितता थपेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply