साउन ३०
कञ्चनपुर-अत्तरिया बजार — बिहानको पहिलो किरणसँगै सुरु हुने जीवन बिहानको पहिलो घाम टिनका छानामा टप्प–टप्प पर्छ। धुलोले भरिएको सडकमा रबरका चप्पल र छडीका टुप्पाहरूको ठक–ठक आवाज मिसिन्छ।
चिया पसलहरूमा भाँडामा उम्लिरहेको दूधको गन्ध, भुइँमा खन्याएको चियापत्तीको हल्का कडुवापन,ताजा धनियाँ र सागको सुगन्ध हावामा फैलिन्छ।
त्यही गन्ध, त्यो आवाज, त्यो हलचलबीच अत्तरिया बजारको बीचमा एउटा सानो पसल — ‘समैजी इलेक्ट्रिकल पसल’। त्यहाँ पसलको अगाडि बिहानैदेखि मानिसको ओइरो लाग्छ। कोही बिग्रेको फ्यान बोकेर, कोही मोटरको पाटो हातमा, कोही भने हातमा रेडियो समातेर।
पानासोनिक रेडियोको दिनहरू २०४० र २०५० को दशक, जब घर–घरमा पानासोनिक रेडियो ‘गर्वको वस्तु’ मानिन्थ्यो। त्यो बिग्रियो भने मान्छेहरू दुई दिनको बाटो हिँडेर समैजी इलेक्टि्रकल पसल पुग्थे।
लालपुरका भीमबहादुर बोहरा, जो अहिले छडी टेकेर बिस्तारै हिँड्छन्, आँखा टल्काउँदै सम्झिन्छन्—“२०४८ सालमा मेरो रेडियो बिग्रियो। गाउँका सबैले भने, ‘अत्तरिया लैजा, ताम्राकार मिलाउँछन्।’ १ दिन लागेर पुगें। उहाँले चिया ख्वाएर भने— ‘भोलि बेलुकी आउनु। भन्नुभयो म खमौरा छाेरीकाे घर सुते, भोलिपल्ट रेडियोले फेरि गीत गाउन थाल्यो। त्यो दिनको खुशी आज पनि ज्यूँदै छ।”
सिद्धराज ताम्राकार मुस्कुराउँदै भन्छन्पहिला हामीले आवाज सुनेर मात्र बिग्रेको पत्ता लगाउँथ्यौं। अहिले मेसिनले तुरुन्त देखाइदिन्छ। तर, सीप र मिहिनेत चाहिँ उस्तै चाहिन्छ। पसलभित्र पनि परिवर्तन आएको छ— भुइँमा छरिएका स्क्रू र तारका बोराहरू अब र्याकमा सुगठित छन्। नगदको साथसाथै कार्ड–पे र डिजिटल भुक्तानीको सानो मेसिन पनि काउन्टरमा छ। तर, एउटा कुरा समयले बदल्न सकेको छैन—तीन पुस्ताको भरोसा। जसका हजुरबुबा पानासोनिक रेडियो लिएर आएका थिए, उनीहरूको नाति आज मोबाइलको चार्जिङ पोर्ट बनाउन आउँछ।
उनी बताउँछन् पसल भित्र पस्दा एक किसिमको विशेष गन्ध — तामाको तार, मोटरको ग्रीस, र हल्का धुलो मिसिएको। भुइँमा साना स्क्रू, नट–बोल्ट, तारका टुक्रा र पुराना पाना। कुनामा पुरानो टेबल, माथि स्क्रूड्राइभर, प्लास, माप्ने टेप, अनि एउटा पुरानो मोल्टिमिटर।
बाहिर सडकमा गाेरुगाडीको घन्टी टन–टन बज्छ, तरकारी बेच्ने महिलाको स्वर गुञ्जिन्छ—“ताजा साग! ताजा साग!” रेडियोमा पुरानो नेपाली गीत— “यो मन त मेरो नेपाली हो”— पसलभित्र हल्का आवाजमा बजिरहेको हुन्छ।
विद्युतको काम मात्र होइन, उहाँ फर्निचरमा पनि उस्तै सिपालु। रामेश्वर चौधरी भन्छन्—“मैले २०५२ सालमा उहाँबाट बनाएको टेबुल अझै घरमै छ। तीन दशक भयो, अझै मजबुत छ।”
तर, बजारको शान्ति सधैं रहँदैन।२०५२ सालपछि जनयुद्ध सुरु हुँदा अत्तरिया बजारको वातावरण बदलियो।असुरक्षा र अनिश्चितताको कारण उहाँले पसल गुलरिया बजारमा सार्नुभयो।
ग्राहकहरूको माया भने घटेन। गणेश कार्की भन्छन्—“हामी गुलरिया पुगेर पनि उहाँकै पसल खोज्थ्यौं। किनकि विश्वास ताम्राकार दाइमाथि मात्रै थियो।”
केही वर्षपछि, आर्थिक अवस्था र पारिवारिक कारणले उहाँले कलुवापुर घर नजिकै पसल राख्ने निर्णय गर्नुभयो। त्यहाँ पनि बिहानैदेखि बेलुकासम्म ग्राहकको ओइरो लाग्ने। अन्ततः, चमन चौराहामा पसल स्थायी रूपमा बस्यो, जहाँ आज पनि कामको चाप घटेको छैन।
आज, सिद्धराज ताम्राकारको कपालमा सेतो रङ छाएको छ, अनुहारमा समयका रेखाहरू छन्। तर, हातको चपलता पुरानै जस्तो छ। उहाँ भन्छन्—“हामीले मिहिनेत गर्नुपर्छ, कसैको भर पर्नु हुँदैन। सीप छ भने काम गरेरै खानुपर्छ।”
कमला भट्ट भन्छिन्—“हामी सानो हुँदा बाबाले उहाँकै पसलमा सामान मर्मत गर्न लैजानुहुन्थ्यो। अहिले म आफ्ना नातिनको फ्यान लिएर आउँछु। यो पसल हाम्रो परिवारको इतिहास हो।”
बेलुकी पर्न लाग्दा पसलको बाहिर बत्तीको पहेंलो उज्यालो पसलको बोर्डमा पर्छ।
दिनभरको भीडपछिको शान्तिमा केवल मोटरको अन्तिम घुमाइ र स्क्रूड्राइभरको टक–टक आवाज सुनिन्छ। ग्राहकहरू विदाइ हुँदै भन्छन्—
“तपाईं जस्तो मानिस भेटिन गाह्रो छ।”पसलको ढोका बिस्तारै बन्द हुन्छ, तर भित्रको उज्यालो कहिल्यै निभ्दैन— त्यो उज्यालो सीप, इमानदारी र तीन दशकको विश्वासको हो।
‘समैजी इलेक्ट्रिकल पसल’ आज केवल व्यापारिक केन्द्र मात्र होइन, यो स्मृतिको संग्रहालय हो।
यहाँको गन्ध, आवाज, र दृश्यसँग सयौँ मानिसको जीवनका कहानियाँ गाँसिएका छन्।
तीन दशकको यात्रा, जुन अत्तरिया बजारको धुलो र चिया पसलको गन्धबाट सुरु भई, आज पनि उज्यालो र विश्वास बाँडिरहेको छ— सिद्धराज ताम्राकारको हातबाट।