चैत ३
कैलाली – चलचित्र पत्रकारिता क्षेत्रको क्रियाशील संस्था चलचित्र पत्रकार संघ नेपालको कैलाली शाखाले नयाँ नेतृत्व चयन गर्दै आफ्नो यात्रा नयाँ उचाइमा पुर्याउने संकेत दिएको छ। जिल्लामा सम्पन्न दोस्रो अधिवेशनमा विवेक नागरी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।
धनगढीमा सम्पन्न अधिवेशनले नागरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै आगामी योजना र लक्ष्य तय गरेको छ। उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकुसिंह ठकुरी, सह–सचिवमा यज्ञराज अवस्थी र कोषाध्यक्षमा यमुना साउद सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा साबित्रा जोशी, रक्षा बागचन, कमल साउद, वीरेन्द्र सिहं, राज चौधरी र महेन्द्र बहादुर चौधरी रहेका छन्।
अधिवेशनको प्रमुख आतिथ्य गरेका संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिताको महत्व र यसको मोफसल विकासमा पत्रकारहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्र अझ सशक्त बनाउनु आवश्यक रहेको बताए।
नवनिर्वाचित अध्यक्ष नागरीले आफ्नो पदभार सम्हाल्दै सुदूरपश्चिमको चलचित्र क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउने, स्थानीय प्रतिभालाई उजागर गर्ने र पत्रकारितालाई व्यवस्थित बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम, र अन्तरक्रियात्मक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने योजना रहेको पनि बताए।
चलचित्र पत्रकार संघ कैलालीले विगतदेखि नै सुदूरपश्चिमको चलचित्र क्षेत्रलाई उजागर गर्दै आएको छ। नयाँ नेतृत्वसँगै संघले चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र पत्रकारहरूको हकहितमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने आशा गरिएको छ।
