असोज ५
४२ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरेका छन् । कोशिश नेपालले आज आयोजना गरेको पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिएको हो ।
परियोजनाको सहयोगमा उनीहरुले परिचयपत्र प्राप्त गरेको कोशिश नेपालका सुदूपश्चिम प्रदेश संयोजक बसन्ती शाहीले जानकारी दिए ।
एक जनाले रातो कार्ड पाएका र २ जनाले निलो कार्ड पाएको उनको भनाइ छ ।
‘एक सय जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु स्वरोजगार भएका छन्’ उनले भनिन् ‘कुनै तरकारी खेतीमा आवद्ध छन् भने कोही मोटरसाइकल मर्मतमा आवद्ध भएर काम गरिरहेका छन् ।’
जम्मा १ सय ९७ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुमध्ये १ सय ५२ जना संस्थाको सम्पर्कमा रहेको उनले बताइन् । अन्य ४५ जना भने आफ्नो रोजगारी गरी बसेका उनले बताइन् ।
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र तथा सामाजिक सुरक्षाको सुविधा प्रदान गर्ने,पक्रियालाई सरल तथा सहज बनाउन सरोकारवालाहरुको ध्यानाकर्षण हुने खालका समाचारहरुमा सञ्चारकर्मीले जोड दिनुपर्ने उनले बताइन् ।
उनले यस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षणका लागि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले भोगिरहेका समस्याहरुको बारेमा समाचार,कथा तथा फिचरहरु प्रकाशन गर्न परियोजनाको माग रहेको बताइन् ।
समाहित परियोजना समाप्ती पश्चात पनि मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताको सवाल निरन्तर उठाइ सरोकारवाला निकायहरुमा दवाव सिर्जना गर्नुपर्ने माग पनि रहेको उनको भनाइ छ ।
राष्ट्रिय अपाङ्गता महासंघ सुदूरपश्चिम प्रदेश सचिव नरदीप धामीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुको क्षमता विकास र स्वरोजगार बनाउनमा लागिरहने प्रतिवद्धता जाहेर गरे ।