हेमा भट्ट, असोज ८, कञ्चनपुर
कञ्चनपुर — लामो समयदेखि सुनसान बनेको कृष्णपुर नगरपालिका–५ स्थित वनदेवी सामुदायिक वनको खेलमैदान सोमबारदेखि पुनः जीवन्त बनेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सुरु भएको खुला क्रिकेट प्रतियोगिता–२०८२ भव्य समारोहका साथ प्रारम्भ भएको हो।
स्थानीयले यसलाई केवल खेल–प्रतिस्पर्धामात्र नभई समाजलाई नजिक ल्याउने, युवामा सकारात्मक उर्जा भर्ने र खेल–संस्कृति विकास गर्ने ऐतिहासिक अवसरका रूपमा लिएका छन्।
समारोहका प्रमुख अतिथि नगरप्रमुख हेमराज ओझाले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीप्रति गहिरो दुःख व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो : नगरपालिकाका लालपुर्जा लगायतका महत्वपूर्ण अभिलेख नष्ट हुनु दुर्भाग्यपूर्ण हो। मेरो निजी आवास र आमाबाबुको घर समेत क्षति भएको छ। तर भविष्यप्रति म आशावादी छु। खेलकुदमार्फत हामी समाजलाई पुनः सकारात्मक सन्देश दिन सक्छौं।
नगरप्रमुख ओझाले नगरका करिब ६ वडामा खेलमैदान निर्माण गर्ने तयारी भइरहेको जनाउँदै खेलकुदमैत्री वातावरण बनाउन प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि वडा अध्यक्ष टेक पाण्डेले वडा नम्बर ५ को यो पहललाई ऐतिहासिक भन्दै खेल र खेलाडीले समाजलाई सकारात्मक दिशातर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भने : यस्ता प्रतियोगिताले अनुशासन, राष्ट्रप्रेम र सहकार्यको भावना जगाउँछन्। हाम्रो चाहना युवा पुस्ता हिंसाबाट टाढा रहून् र खेलमैदानतर्फ आकर्षित होऊन् भन्ने हो।
खेलमैदान निर्माणमा वडा कार्यालय, सामुदायिक वन, स्थानीय संघ–संस्था र नगरपालिकाको हातेमालो रहेको बताउँदै उहाँले यसलाई “साझा प्रयास, साझा उपलब्धि” को उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्नुभयो।
समारोहमा इलाका प्रहरी कार्यालय गुलरिया प्रमुख प्र. ब. ना. नि. नरेश चन्द, वनदेवी सामुदायिक वन अध्यक्ष निरज भण्डारी, जानकी सामुदायिक वन अध्यक्ष चन्द्र प्रकाश भट्टराई लगायतको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रमको स्वागत मन्तव्य ललित देउवाले राख्नुभयो भने सञ्चालन मुकेश बडुले गर्नुभएको थियो।
खेलमैदान वरिपरि गाउँका वृद्ध, बालबालिका, महिला र युवाको बाक्लो उपस्थिति थियो। हरेक बल र रनमा गुन्जिएको ताली र हुटिङले वातावरणलाई मेलाजस्तै बनाइदिएको थियो।
प्रतियोगितालाई झन् प्रतिस्पर्धात्मक बनाउन आकर्षक पुरस्कार घोषणा गरिएको छ :
पहिलो हुने टोलीलाई रु. ५५,०००
दोस्रो हुने टोलीलाई रु. २५,०००
तेस्रो हुने टोलीलाई रु. १५,०००
वनदेवी सामुदायिक वन अध्यक्ष रामचन्द्र भट्टले पुरस्कार घोषणासँगै खेलमैदानलाई अझ आधुनिक र सुरक्षित बनाउन निरन्तर प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतियोगिताको पहिलो खेलमा रुपाली ब्रदर्स र सानो पाइला युवा क्लबबीच प्रतिस्पर्धा सुरु भएको छ। असोज ८ देखि १३ गतेसम्म चल्ने यो प्रतियोगिताको संयोजन प्रकाश भट्टले गर्नुभएको हो।
उनका अनुसार : यस प्रतियोगिताको मुख्य उद्देश्य युवा पुस्तालाई स्वास्थ्य, खेलकुद र राष्ट्रनिर्माणतर्फ प्रेरित गर्ने अभियान हो। यो केवल एउटा खेल होइन, समुदायको आत्मा बनेको छ।
वडा नम्बर ५ को अगुवाइमा सुरु भएको यो प्रतियोगिता स्थानीयस्तरमा मात्र होइन, नगरपालिका र जिल्लाभर खेल–संस्कृतिको नयाँ अध्याय लेख्ने आधार बनेको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई व्यवहारमै उतार्दै, कृष्णपुरलाई खेलमैत्री नगर बनाउन गरिएको यो पहल ऐतिहासिक बन्ने निश्चित छ।