पुस ३ धनगढी –महिलामाथि हुने हिंसाको जरो अझै गहिरो रहेको सरोकारवालाले औँल्याएका छन् । विशेषगरी बालविवाह, सामाजिक सञ्जालको दुरुपयोग र बदलिँदो सामाजिक संरचनाले लैङ्गिक हिंसालाई नयाँ रूप दिएको उनीहरूको निष्कर्ष छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सवअन्तर्गत सञ्चालन भइरहेको ‘भिजन सुदूरपश्चिम’ बहस कार्यक्रममा “सम्मानित समाजको आधारः शून्य लैङ्गिक हिंसा र दुव्र्यवहार” विषयमा बोल्दै वक्ताहरूले बालविवाह महिला हिंसाको प्रमुख कारणमध्ये एक बनेको बताए ।


बहसमा सहभागीहरूले प्रविधिको दुरुपयोग गर्दै कम उमेरमै हुने विवाहले महिलालाई बहुआयामिक हिंसातर्फ धकेलिरहेको उल्लेख गरे । सामाजिक सञ्जालमार्फत हुने प्रेम विवाह, परिवारको असहयोग, असमय गर्भधारण, स्वास्थ्य समस्या, आर्थिक निर्भरता र पारिवारिक अपहेलनाले महिलालाई मानसिक तथा सामाजिक हिंसाको चपेटामा पारिरहेको उनीहरूको भनाइ थियो ।
सामाजिक विकास मन्त्रालयका कानुन सचिव दानबहादुर सुनारले महिलामाथि हुने हिंसाले अहिले डिजिटल स्वरूपसमेत ग्रहण गरिसकेको बताए । “शारीरिक, मानसिक र आर्थिक हिंसासँगै अहिले डिजिटल हिंसा थपिएको छ,” उनले भने, “कम्प्युटर नेटवर्किङ र सामाजिक सञ्जालमार्फत हुने अपराधमा महिला र किशोरी सबैभन्दा बढी पीडित छन् ।”


उनले हिंसा सहेर बस्नु अपराधीको मनोबल बढाउनु सरह हुने भन्दै महिलालाई आफ्नो अधिकारका लागि खुलेर आवाज उठाउन आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले ग्रामीण भेगमा अझै पनि हिंसाको परिभाषा स्पष्ट नभएको बताए । समयसँगै हिंसाको स्वरूप फेरिएको उल्लेख गर्दै उनले भने, “पहिले कुटपिटका घटना बढी हुन्थे, अहिले सामाजिक सञ्जालसँग सम्बन्धित हिंसाका उजुरी बढेका छन् ।” फेसबुक, टिकटक, भाइबर र ह्वाट्सएपमार्फत हुने दुर्व्यवहारसँगै आर्थिक ठगीका घटना पनि बढिरहेको उनले जानकारी दिए ।

महिला अधिकारकर्मी संगीता अधिकारीले हिंसा महिलामाथि मात्र सीमित नरहेको बताइन् । “हिंसाले कसैलाई पनि अछुतो राखेको छैन,” उनले भनिन्, “श्रम शोषण, मानसिक दबाबजस्ता कारणले पुरुष पनि हिंसामा परिरहेका छन् ।” पुनर्स्थापना भइसकेपछि पनि समाजको नकारात्मक दृष्टिकोणका कारण पीडितमाथि थप हिंसा हुने क्रम नरोकिएको उनको भनाइ थियो ।
सम्मानित समाज निर्माणका लागि सोच, व्यवहार र सामाजिक संरचनामै परिवर्तन आवश्यक रहेकोमा वक्ताहरूको जोड थियो ।
यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवमा मनोरञ्जनसँगै बिहानी सत्रमा ‘भिजन सुदूरपश्चिम’ नामक बहस कार्यक्रम सुरु गरेको हो । बिहीबार सम्पन्न नवौँ श्रृङ्खलामा सरोकारवाला निकायबीच लैङ्गिक हिंसा न्यूनीकरणका उपायबारे गम्भीर बहस गरिएको छ ।
