हेमा भट्ट ,पुस २३
कञ्चनपुर- भिमदत्त नगरपालिका–१० मा अवस्थित श्री महेश्वर माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मिति २०८२ साल पौष २३ गते विद्यालय परिसरमा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि भिमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले तराई–मधेस क्षेत्रको शैक्षिक अवस्था सुधारका लागि स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए।


कार्यक्रमका विशिष्ट अतिथि भिमदत्त नगरपालिकाकी उप–प्रमुख नीलम लेखक जोशीले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई नैतिकता, अनुशासन र सामाजिक जिम्मेवारीसँग जोडिनुपर्ने बताइन्। उनले विद्यालयको निरन्तर शैक्षिक प्रगति र अनुशासनको प्रशंसा गर्दै स्थानीय सरकार विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन्।
समारोहमा वक्ताहरूले तराई क्षेत्रको वर्तमान शैक्षिक अवस्थामाथि चर्चा गर्दै विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, आर्थिक रूपमा कमजोर अभिभावक, वैदेशिक रोजगारीका कारण अभिभावकको प्रत्यक्ष सहभागितामा कमी तथा प्रविधिमा पहुँचको असमानता जस्ता चुनौतीहरू औँल्याए। यस्ता चुनौतीबीच पनि महेश्वर माध्यमिक विद्यालयले शैक्षिक सुधार, अनुशासन तथा सह–पाठ्यक्रम गतिविधिमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गरिएको थियो।


विद्यालय व्यवस्थापन समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा विगत ५८ वर्षदेखि विद्यालयले स्थानीय तहमा शिक्षा विस्तारमा पुर्याउँदै आएको योगदान, विद्यार्थीको शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, खेलकुद, सांस्कृतिक कार्यक्रम तथा सामाजिक चेतनामा विद्यालयको भूमिका उल्लेख गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूद्वारा प्रस्तुत विभिन्न सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रदर्शन तथा सम्मान कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।


कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मी दत्त भट्टले गर्नुभएको थियो। अन्त्यमा विद्यालय परिवारले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै समुदायसँग सहकार्य गरेर विद्यालयलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।


