फागुन १८
धनगढी – प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित आज (बुधबार) राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मतदान प्रक्रिया सम्पन्न नहुन्जेलसम्म अतिआवश्यक सेवाबाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। यस व्यवस्थाले मतदान केन्द्र आसपासको वातावरणलाई शान्त, व्यवस्थित र सुरक्षित बनाउने विश्वास गरिएको छ।
यद्यपि एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सेवाका सवारीसाधन तथा निर्वाचन आयोग बाट आधिकारिक पास प्राप्त गरेका सवारी साधनहरू भने निर्वाध रूपमा सञ्चालन हुनेछन्।
आयोगले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म यो व्यवस्था लागू हुने जानकारी निर्वाचन आयोग का सूचना अधिकारी सुमन घिमिरेले दिएका छन्।
यस कदमलाई नागरिकको मताधिकार सुरक्षित गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउने सकारात्मक प्रयासका रूपमा हेरिएको छ। शान्त, सभ्य र मर्यादित मतदानका लागि सबै नागरिकलाई सहयोग र संयमता अपनाउन आग्रह गरिएको छ।
