पुस ३०
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान गरेका छन ।
मंगलबार टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताए ।
उनले निजी क्षेत्रको सहकार्यमा प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीकर्तालाई अनुकूल हुने कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे ।
साथै लगानीको सुनिश्चितताको लागि सुरक्षा, खानेपानी र यातायातजस्ता पूर्वाधार विकासको वातावरण बनाउन पनि सरकार तयार रहेको बताए।
मुख्यमन्त्री शाहले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै यहाँको कला, संस्कृति र पहिचानलाई अगाडि बढाउने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमले आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले प्रदेश सरकार र निजी क्षेत्र मिलेर आर्थिक गतिविधि चलायमान बनाउन लागिपरेको उल्लेख गरे । साथै जेन्जीहरूले उठाएका मागहरू सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने माग संविधानको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिए। नयाँ जनादेशअनुसार आवश्यक संविधान संशोधनमार्फत मुलुकलाई अगाडि बढाउनुपर्ने उनको धारणा थियो।
मुख्यमन्त्री शाहले टीकापुरमा छिट्टै टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन गरिने घोषणा गर्दै यसले क्षेत्रको शैक्षिक, आर्थिक र समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। यसका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
