माघ १२
कञ्चनपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् ।
सोह्र निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारमध्ये सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नारायणप्रकाश साउदलाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ । साउद यसअघि सङ्घीय सरकारमा पटकपटक मन्त्री भइसकेका छन् । साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उम्मेदवार अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिए ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता भीमबहादुर रावल चुनावी मैदानमा छन् । सो पार्टीबाटै कैलाली क्षेत्र नं ५ मा प्रेम आले र कञ्चनपुर क्षेत्र नं १ मा बीना मगर चुनावी दौडमा छन् । आले र मगर सङ्घीय सरकारका पूर्वमन्त्री हुन् ।
नेकपाले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । प्रदेश सरकारका पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । नेकपाबाटै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका मानबहादुर सुनार पूर्व राज्यमन्त्री हुन् ।
नेकपा ९एमाले० बाट पनि पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का नेता गणेशसिंह ठगुन्ना र बैतडीबाट उम्मेदवार बनेका दामोदर भण्डारी सङ्घीय सरकारका पूर्वमन्त्री हुन् । कैलाली निर्वाचन क्षेत्र नं ४ मा पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट उम्मेदवार छन् । कैलाली–३ का उम्मेदवार गौरीशङ्कर चौधरी पनि पूर्व सङ्घीय मन्त्री भइसकेका छन् ।
एमालेबाटै अछाम क्षेत्र नं १ मा उम्मेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन् । एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाइएको छ ।
उनका अनुसार एमालेले प्रदेशभर चुनावी सभा तथा भेलाहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ ।
कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना उम्मेदवार चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।रासस
