हेमा भट्ट,माघ २९
कञ्चनपुर — नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक आधारका रूपमा स्थापित महान जनयुद्धको ३१औँ जनयुद्ध दिवसका अवसरमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। निर्वाचन परिचालन मूल समितिको आयोजनामा फागुन १ गते बिहान ९ बजे शुक्लाफाँटा नगरपालिका–३, जोनापुरमा शहीद तथा बेपत्ता परिवार सम्मान एवं अगुवा नेता–कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न हुने जनाइएको छ।
कार्यक्रममार्फत जनयुद्धका शहीदहरूको योगदानको स्मरण गर्दै उनीहरूको बलिदानप्रति उच्च सम्मान प्रकट गरिनेछ भने बेपत्ता परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिनेछ। साथै, वर्तमान राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी रणनीतिक कार्यदिशाबारे प्रशिक्षण र मार्गदर्शन प्रदान गरिने कार्यक्रम रहेको सह–संयोजक खेमराज पाण्डेयले जानकारी दिए।
उक्त कार्यक्रममा साविक घटकका वार्ड कमिटी अध्यक्ष, पालिका पदाधिकारी, जिल्ला तथा प्रदेश कमिटी सदस्य, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जनवर्गीय संगठनका केन्द्रदेखि नगर तहसम्मका अध्यक्ष तथा पदाधिकारीहरू, जनयुद्धका घाइते, अपाङ्ग तथा जेलबन्दी कमरेडहरू र विभिन्न तहका निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै, सबै पालिकाबाट शहीद तथा बेपत्ता परिवारका सदस्यहरूको अनिवार्य उपस्थितिका लागि समन्वय गरिएको जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रमले आन्दोलनका ऐतिहासिक उपलब्धिहरूको संरक्षण गर्दै नयाँ पुस्तामा विचार, अनुशासन र प्रतिबद्धताको भावना सुदृढ पार्ने अपेक्षा गरिएको छ। शहीदहरूको सपना साकार पार्ने संकल्पसहित एकता, जिम्मेवारी र संगठनात्मक मजबुतीका साथ अगाडि बढ्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिने बताइएको छ।
