टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?

फागुन ६
आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले सुखद अन्त्य गरे पनि अपेक्षा अनुसार प्रदर्शन गर्न भने सकेन। समूह ‘सी’ को अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले सुखद अन्त्य गरेको हो।

पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनले पराजित भए पनि राम्रो ब्याटिङ गर्दै प्रशंसा बटुलेको थियो।

तर त्यसपछि नेपालले इटालीसँग १० विकेटको नमिठो हार ब्यहोर्‍यो। वेस्ट इन्डिजसँग दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे पनि अरू खेलाडीको प्रदर्शन फिक्का रह्यो। यो हारले नेपालको यात्रा समूह चरणमै समाप्त भयो। अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग जित निकालेपछि विश्वकपको यात्रा समाप्त भयो।

विश्वकपपछि नेपालका कप्तान रोहितकुमार पौडेलले प्रतियोगिताको विश्लेषण यसरी गरे, ‘सुरुवात राम्रो भएको थियो। इंग्ल्यान्डसँगको खेल हामीले जित्नुपर्ने थियो, हामीले आफ्नो उत्कृष्ट खेल खेल्यौं तर कहिलेकाहीँ खेलमा नतिजा सोचेजस्तो आउँदैन। इटाली र वेस्ट इन्डिज विरुद्धको प्रदर्शन भने निराशाजनक रह्यो। तर लिग चरणको अन्तिम खेल स्कटल्याण्डसँग जितेर सुखद अन्त्य गर्न चाहन्थ्यौं र त्यसमा सफल भयौं। समग्रमा यो विश्वकप राम्रो अनुभव र अवसर रह्यो। हाम्रो लक्ष्य दोस्रो चरणमा पुग्ने थियो, तर दुर्भाग्यवश त्यो हुन सकेन। अब अर्को पटकका लागि तयारी गर्नेछौं।’

यसपटक भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले चारै खेल खेल्यो। चारै खेलमा नेपालको खेल हेर्न हजारौं दर्शक आए। नेपालसहित विश्वभरका समर्थक खेल हेर्न मुम्बई आएका थिए। जसले विश्व क्रिकेटको ध्यान तान्यो।

यो पनि : १२ वर्षपछि विश्वकपमा जित निकाल्दा बने यी मुख्य कीर्तिमान

उनले भने, ‘इंग्ल्यान्ड विरुद्धको पहिलो खेलपछि धेरै समर्थकहरू मैदानमा आएका थिए। तर त्यसपछिका खेलमा हामीले उनीहरूलाई निराश बनायौं। उनीहरू धेरै टाढाबाट नेपाललाई साथ दिन आएका थिए। त्यसैले उनीहरूको अनुहारमा मुस्कान ल्याउन यो जित (स्कटल्याण्ड विरुद्ध) निकै महत्त्वपूर्ण थियो। अब हामी यही जितलाई आधार मानेर अघि बढ्नेछौं।’

नेपालले इंग्ल्यान्डविरूद्ध यस्तो खेल खेल्यो की अन्तिम बलमा जितका लागि छक्का आवश्यक थियो। खेलमा रोमाञ्चकता थप्ने र अन्तिम अवस्थामा पनि खेलमा फर्कन सक्ने नेपालको पुरानै छवी हो।

‘हामी प्राय: भन्ने गर्छौं कि नेपाली क्रिकेटको फ्यान हुन मुटु बलियो हुनुपर्छ। हामी धेरै खेलहरू अन्तिम अवस्थासम्म पुगेर खेल्छौं। यस प्रतियोगिताबाट, विशेष गरी इंग्ल्यायन्ड विरुद्धको खेलबाट हामीले धेरै सकारात्मक कुराहरू सिकेका छौं,’ मंगलबार स्कटल्यान्डसँग जित निकालेपछि रोहितले भने, ‘यो जित मेरा लागि निकै माथिल्लो स्थानमा छ किनकि विश्वकपमा खेल जित्न १२ वर्ष लाग्यो। अघिल्लो विश्वकपमा हामीले एउटा पनि खेल जित्न सकेका थिएनौं। दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले जसरी खेल टुङ्ग्याए र सोमपालले जसरी बलिङ गरे, त्यो सामूहिक प्रयासको परिणाम हो।’

उनले नेपाली क्रिकेट अघि बढ्नका लागि एक्सपोजरको खाँचो भएको बताए। एसोसिएट मात्र नभई टेस्ट राष्ट्रसँग पनि सिरिज खेल्नु पर्ने उनले बताए।

‘हामीले ठूला टेस्ट राष्ट्रहरूसँग वर्षमा कम्तिमा दुईवटा सिरिज खेल्न जरुरी छ। उत्कृष्ट खेलाडीहरूसँग खेल्दा मात्र हामीले आफ्नो स्तर थाहा पाउँछौं। साथै, हाम्रो घरेलु संरचना पनि बलियो हुन आवश्यक छ,’ कप्तान रोहितले भने।

यसपटकको विश्वकपमा नेपालका लागि राम्रो प्रदर्शन गर्ने खेलाडीको अग्रपंक्तिमा दीपेन्द्रसिंह ऐरी रहे। उनले यसपटक दुई अर्धशतक प्रहार गरे भने दुई विकेट लिन सफल भए।

वेस्ट इन्डिजविरूद्ध अर्धशतक प्रहार गरेका ऐरीले स्कटल्यान्ड विरूद्धको खेलमा नटआउट ५० रन प्रहार गरे। उनी नेपालका लागि विश्वकपमा लगातार अर्धशकत प्रहार गर्ने पहिलो खेलाडी बने। वेस्ट इन्डिजविरूद्ध धेर्यपूर्वक ब्याटिङ गरेका दीपेन्द्रले नेपालको इज्जत जोगाएका थिए। स्कटल्यान्ड विरुद्धको खेलमा त उनकै अर्धशतक जितको आधार बन्यो।

कप्तान रोहितले दीपेन्द्रको प्रदर्शनको उच्च प्रशंसा गर्दै उनीबाट सिक्न पर्ने यसअघि नै बताएका थिए। स्कटल्यान्ड पछिको खेलबाट दीपेन्द्रले आफूलाई प्रमाणित गरेको उनको भनाइ छ।

‘धेरै खेलाडीहरूले आफ्नो क्षमता देखाए। दीपेन्द्रले निकै राम्रो खेले र उनी पाकिस्तान सुपर लिगमा पनि छानिएका छन्, जुन उनको लागि योग्य कुरा हो। उनले परिस्थिति अनुसार आफूलाई ढाल्न जानेका छन्, जुन अरू खेलाडीले पनि सिक्नुपर्छ। यद्यपि, समग्रमा टोलीले आफ्नो पूर्ण क्षमता अनुसार प्रदर्शन गर्न भने सकेन,’ कप्तान रोहितले भने।

टी-२० विश्वकपका दौरान नेपालको व्यवस्थापनको पनि कुरा उठ्यो। प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले खेलाडीको ध्यान भंग गरेको बताउँदै सामाजिक सञ्जालको नकारात्मक पक्षको आलोचना गरेका थिए। यस्तै कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले पनि नेपाल क्रिकेट संघ (क्यान) ले बराम्बार व्यवस्थापक फेर्दा ड्रेसिङ रूममा असर गरेको कुरा बताएका थिए।

यस विषयमा कप्तान रोहित पनि पोथासको भनाइमा सहमत छन्। रोहितले भने, ‘प्रशिक्षक निकले म्यानेजरमा भइरहने परिवर्तनले योजनामा असर पार्ने कुरा उठाउनुभएको थियो। वर्षभरि एउटै म्यानेजर हुनु टोलीको स्थिरताका लागि महत्त्वपूर्ण हुन्छ। आशा छ, क्रिकेट संघले यसतर्फ ध्यान दिनेछ।’

यसपटक नेपालले ब्याटिङका लागि राम्रो मानिने मुम्बईको वाङखेडेमा सबै खेल खेल्यो। इंग्ल्यान्ड विरूद्धको पहिलो खेल र स्कटल्यान्डसँग राम्रो ब्याटिङ गर्दा नेपाल इटाली र वेस्ट इन्डिजसँग भने चुक्यो। तर पनि समग्रमा नेपाली टोली मुम्बईमा रमाएको देखियो।

‘वानखेडेको पिच राम्रो थियो र यहाँका कन्डिसन नेपालसँग मिल्दाजुल्दा थिए। यहाँ एउटा मात्र खेल जित्नु हाम्रो अपेक्षा भन्दा कम हो। नेपालको जस्तो समर्थकहरूको साथ अरू कुनै एसोसिएट देशसँग छैन। अब अगाडि बढ्नका लागि नेपालमा दुई-दिने वा तीन-दिने घरेलु खेलहरू हुनुपर्छ, जसले एकदिवसीय खेललाई सहज बनाउँछ,’ रोहितले प्रतियोगिताबाट नेपाल फर्कनुअघि भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply