हेमा भट्ट, फागुन ११
कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत विभिन्न वडामा का प्रतिनिधि सभा सदस्य उम्मेदवार राम बहादुर कार्कीको घरदैलो कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार कार्कीले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिनुभएको हो।
अभियान टोलीका अनुसार कार्कीले कृष्णपुर नगरपालिका वडा नं. ३ तथा का वडा नं. २, ३, ४ र १२ का विभिन्न टोल–टोलमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्नुभएको थियो। कोठार, दम्मलपट्टि, तिलकिपट्टी, दुवाह, कालागौडी, बैसाखा शिविर, बन्साह, रानिपुर, जोनापुरी, पिपलाडी र असैना लगायतका क्षेत्रमा उहाँले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो।
घरदैलो अभियानका क्रममा कार्कीले देशको वर्तमान राजनीतिक संरचनाबारे आफ्नो धारणा स्पष्ट पार्दै संघीयता खारेज गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “वर्तमान संरचनाले अपेक्षित सुशासन र विकास दिन सकेको छैन,” उहाँले भन्नुभयो, “राष्ट्रिय स्वाधीनता, सुशासन र दिगो विकासका लागि वैकल्पिक राजनीतिक सोच आवश्यक छ। त्यसका लागि राष्ट्रिय जनमोर्चालाई सशक्त बनाउनुपर्छ।” उहाँले मतदातालाई आफ्नो चुनाव चिन्ह ‘गिलास’मा मतदान गरी परिवर्तनको अभियानलाई सफल बनाउन अपिल गर्नुभयो।
अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य सेवा सुधार, युवाका लागि रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ व्यवस्थापन, सडक पूर्वाधार स्तरोन्नति लगायतका विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए। विशेषगरी किसानहरूले मल, बीउ र बजार व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि ठोस नीति आवश्यक रहेको बताएका थिए। युवाहरूले रोजगारी र सीपमूलक तालिमको अवसर बढाउनुपर्ने माग गरेका थिए भने महिलाहरूले स्वास्थ्य सेवा र आत्मनिर्भरता कार्यक्रम विस्तार गर्न आग्रह गरेका थिए।
मतदातासँगको प्रत्यक्ष संवादलाई स्थानीयले सकारात्मक रूपमा लिँदै नेताले चुनावी समयमा मात्र नभई निरन्तर जनतासँग सम्पर्कमा रहनुपर्ने धारणा व्यक्त गरेका छन्। “हामीलाई प्रत्यक्ष भेटेर कुरा सुन्ने परिपाटी राम्रो संकेत हो,” एक स्थानीयले भने, “हाम्रो अपेक्षा भनेको पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्व हो।”
अभियान टोलीका अनुसार आगामी दिनमा पनि घरदैलो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै प्रत्येक बस्ती र समुदायमा पुग्ने योजना छ। मतदाताको सुझावलाई घोषणापत्र र प्राथमिकतामा समेट्दै जनताको चाहना अनुसारका कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाइएको छ।
निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर क्षेत्र नं. २ मा चुनावी माहोल थप तातेको छ। विभिन्न राजनीतिक दल तथा उम्मेदवारले आ–आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका बेला घरदैलोमार्फत प्रत्यक्ष संवादलाई प्राथमिकता दिइएको यो अभियानले मतदाताबीच राजनीतिक बहस र चासो दुवै बढाएको देखिन्छ।
