हेमा भट्ट, चैत ३
महेन्द्रनगर, कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ.व. २०८२/०८३ फागुन महिनाको सुरक्षा र अपराध नियन्त्रणको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार, फागुनमा सुरक्षा, कानून कार्यान्वयन र जनसहभागितामा प्रहरीको सक्रिय भूमिका देखिएको छ।
फागुन महिनामा जिल्ला प्रहरी कार्यालयले ७३ अपराध दर्ता गरेको छ, जसमा ज्यान, चोरी, आर्थिक अपराध, महिला र बालबालिका सम्बन्धी मुद्दा समावेश छन्। जघन्य तथा गम्भीर अपराधमा बैंकिङ्ग कसुर, जुवा, ठगी र मुद्रा सम्बन्धी ९ घटना दर्ता भएका छन्। प्रहरी सक्रियतामा ५३ प्रतिवादी पक्राउ गरिएको छ भने १० प्रतिवादी अझै पक्राउ हुन बाँकी छन्।
महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरी ५१ पुगेका छन्। हराइफराइ भएका व्यक्तिहरूमध्ये ३४ जना अझै हराइरहेका छन् भने २७ जना फेला परेका छन्। घरेलु हिंसा सम्बन्धी १७ उजुरी दर्ता भएका छन्, जसमा १४ मामिला मिलापत्रबाट समाधान भएका छन् र ३ मुद्दा अदालतमा पठाइएको छ।
फागुन महिनामा लागूऔषध नियन्त्रणमा ३९ जनालाई पक्राउ गरिएको छ। बरामद पदार्थमा चरेश २.५१ ग्राम, खैरो हेरोइन ४९.९ ग्राम र १०५ एम्पुल लागूऔषध समावेश छन्। यसैबीच, जिल्ला प्रहरीद्वारा फागुन महिनामा ७ आत्महत्या रोकथाम तथा अनुसन्धानका लागि निगरानी गरिएको छ।
सुरक्षा र शान्ति कायम राख्न ३,८५० प्रहरी परिचालन गरिएको थियो। यसै अवधिमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु र ६० जना घाइते भएका छन्। अवैध मदिरा नियन्त्रणमा १,३४१ लिटर बरामद गरिएको छ।
प्रहरीले समुदाय र विद्यालय केन्द्रित ३९ कार्यक्रममार्फत ८७० सहभागीहरूलाई सुरक्षा र सचेतनामुखी बनाउने काम पनि गरेको छ। यी कार्यक्रममा स्थानीय विद्यालय, युवा क्लब र समुदायका प्रतिनिधिहरूसँग सहकार्य गर्दै सुरक्षा, कानून, महिला–बालबालिका सुरक्षा र लागूऔषध नियन्त्रणबारे जनचेतना फैलाइएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, फागुन महिनामा अपराध नियन्त्रण, महिला–बालबालिका सुरक्षा, लागूऔषध नियन्त्रण र जनसहभागिता सुनिश्चित गर्न प्रहरीको सक्रिय प्रयास निरन्तर जारी रहेको छ। प्रहरी प्रशासनले समुदायसँग सहकार्य गरी शान्ति, सुरक्षा र कानूनको प्रभावकारी कार्यान्वयनलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।
