ग्वासी समैजी धाममा विराट महायज्ञ: धर्म र एकताको प्रेरणा

हेमा भट्ट, चैत ५
कञ्चनपुरको कृष्णपुर–४ मालुबेलास्थित पवित्र ग्वासी समैजी धाममा २०८२ साल चैत्र ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने श्री शिव महापुराण तथा महारुद्र विराट महायज्ञको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। धर्म, संस्कृति र सामाजिक एकताको सशक्त सन्देश बोकेको यो महायज्ञले समग्र क्षेत्रमै नयाँ ऊर्जा, उत्साह र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

धार्मिक मान्यता अनुसार ग्वासी समैजीलाई समय, विधि र मर्यादाको संरक्षण गर्ने दिव्य शक्तिका रूपमा पूजाआजा गरिन्छ। उहाँको आराधनाले मानव जीवनमा अनुशासन, सद्भाव र एकता विकास हुने विश्वास रहिआएको छ। कुनै पनि शुभकार्य अघि “ॐ भूमि देवताय नमः” उच्चारण गर्दै पूजा गर्ने परम्परासँग जोडिएको यस धामको धार्मिक महत्त्व अझ विशिष्ट मानिन्छ।

“धर्मो रक्षति रक्षितः” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजना हुन लागेको यो महायज्ञ “सर्वजन हिताय, सर्वजन सुखाय” को महान भावनामा आधारित छ। आयोजकका अनुसार यज्ञमार्फत सम्पूर्ण मानव जातिको कल्याण, शान्ति र समृद्धिको कामना गरिएको छ।

चैत्र ६ गते भव्य कलश यात्रा (शोभायात्रा) सहित उद्घाटन हुने कार्यक्रम नगर परिक्रमा पश्चात् यज्ञस्थलमा पुगेर सम्पन्न हुनेछ। उद्घाटन सत्रमा गणेश वन्दना, गुरु वन्दना तथा व्यासाचार्यद्वारा शिवपुराण वाचनको शुभारम्भ गरिनेछ। चैत्र ७ देखि १५ गतेसम्म दैनिक पूजापाठ, मूलपाठ पारायण तथा दिउँसोदेखि साँझसम्म व्यासाचार्य श्री जयप्रसाद जोशीद्वारा संगीतमय कथा प्रवचन सञ्चालन हुनेछ। साथै राष्ट्रिय कलाकारद्वारा भजन–कीर्तन, झाँकी तथा लीलाप्रदर्शनले वातावरणलाई भक्तिमय बनाउनेछ।

चैत्र १५ गते विशेष लक्ष्यदीप प्रज्वलन तथा चैत्र १६ गते होमयज्ञ, पूर्णाहुति, भोजन भण्डारा र समापन समारोहसँगै महायज्ञको औपचारिक समापन गरिनेछ।

यस महायज्ञका उद्देश्यहरू अत्यन्त दूरदर्शी छन्—धामको धार्मिक तथा पर्यटकीय विकास, गुरुकुल पाठशाला स्थापना, अक्षयकोष निर्माण, ५४ फिट हिमालय पर्वतसहित शिव–पार्वती–गणेशको भव्य मूर्ति निर्माण, वैदिक सनातन धर्मको संरक्षण तथा युवा पुस्तामा आध्यात्मिक चेतना जागरण प्रमुख रहेका छन्।

महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक तथा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले महायज्ञलाई क्षेत्रकै ऐतिहासिक र रूपान्तरणकारी अभियानको रूपमा चित्रण गर्दै भन्नुभयो:ग्वासी समैजी धाम केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीक हो। यस महायज्ञले धर्मप्रति आस्था बढाउनुका साथै शिक्षा, पर्यटन र स्थानीय विकासलाई नयाँ दिशा दिनेछ। हामीले यो अभियानलाई समग्र क्षेत्रको समृद्धिसँग जोडेर अघि बढाएका छौं।उहाँले सबै समुदाय, वर्ग र क्षेत्रका नागरिकलाई सहभागी भई तन, मन र धनले सहयोग गर्न आग्रह गर्दै यो महायज्ञलाई साझा अभियानको रूपमा सफल बनाउनुपर्नेमा जोड दिनुभयो।

समाजसेवी तथा बुद्धिजीवी खेमराज पाण्डेले महायज्ञलाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा व्याख्या गर्दै भन्नुभयो: यस्ता धार्मिक आयोजनाहरू केवल पूजाआजा मात्र होइनन्, यी समाजलाई एकताबद्ध बनाउने, सकारात्मक सोच विकास गर्ने र नैतिक मूल्यमान्यता बलियो बनाउने अभियान हुन्। ग्वासी समैजी धाममा आयोजना हुन लागेको यो महायज्ञले हाम्रो संस्कृतिको संरक्षण मात्र होइन, भावी पुस्तालाई सही दिशा दिने काम पनि गर्नेछ।

उहाँले धर्म, संस्कृति र विकासबीचको सन्तुलन कायम गर्न यस्ता महायज्ञहरू महत्वपूर्ण हुने बताउँदै सबैलाई सक्रिय सहभागिताको आह्वान गर्नुभयो।

पत्रकार सम्मेलनमा वडा अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबै वक्ताहरूले महायज्ञलाई सफल बनाउन सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

आयोजक समितिले दान, सेवा र विभिन्न सहयोगमार्फत सहभागी भई पुण्य लाभ आर्जन गर्न सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ। दाताहरूलाई सम्मानपत्र, रुद्राक्षमाला तथा शिलालेखमार्फत सम्मान गरिने व्यवस्था गरिएको छ।

धर्म, संस्कृति, एकता र विकासको अद्वितीय संगमका रूपमा आयोजना हुन लागेको यो विराट महायज्ञले समाजमा शान्ति, सद्भाव र समृद्धिको सन्देश फैलाउने विश्वास लिइएको छ।

श्री ग्वासी समैजी देवताले सम्पूर्ण जनसमुदायको कल्याण गरून्” भन्ने मंगलकामनासहित, यस महायज्ञमा सहभागी भई पुण्य लाभ आर्जन गर्न सबैमा हार्दिक निमन्त्रणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply