युवा उद्यमशीलताको संगम: धनगढीमा ‘इन्टर च्याप्टर रिट्रिट’ मार्फत लगानी र सम्भावनाको खोज

धनगढी, चैत ०८ — सुदूरपश्चिमको आर्थिक तथा उद्यमशील भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित कैलालीको धनगढीमा ‘इन्टर च्याप्टर रिट्रिट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली युवा उद्यमी मञ्च कैलालीको आयोजनामा भएको उक्त कार्यक्रममा देशका विभिन्न च्याप्टरबाट आएका एक सयभन्दा बढी युवा उद्यमी, व्यवसायी तथा पदाधिकारीहरूको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रमले केवल भेटघाट र अनुभव साटासाटमै सीमित नरही सुदूरपश्चिमको अपार सम्भावनालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्‍यो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई आर्थिक दृष्टिले पनि सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले यहाँको लगानीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए।

कार्यक्रमका अध्यक्ष तथा नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालले सुदूरपश्चिममा रहेका सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले रिट्रिट आयोजना गरिएको स्पष्ट पार्नुभयो। उहाँले युवाहरूको सक्रियता र सहकार्यबाट नै क्षेत्रीय विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा दुई महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएका थिए। सुदूरपश्चिममा लगानीका सम्भावनाबारे पूर्व अध्यक्ष इन्जिनियर रोशन भट्टले विस्तृत प्रस्तुति राख्दै कृषि, पर्यटन, ऊर्जा तथा साना–मझौला उद्योगमा प्रशस्त अवसर रहेको औंल्याउनुभयो। त्यस्तै, नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले पर्यटन क्षेत्रको सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्दै यहाँका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र धार्मिक स्थलहरूलाई विश्व बजारमा प्रवर्द्धन गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने धारणा राख्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्थानीय सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहले पूर्वाधार, नीति तथा सहजीकरणमार्फत लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च कैलालीका फस्ट भिपी आयुष हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विभिन्न च्याप्टरका प्रतिनिधिहरूले आफ्नो अनुभव र धारणा राखेका थिए। सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदी, पोखरा च्याप्टरका अध्यक्ष समेज राजभण्डारी, रुपन्देही च्याप्टरका अध्यक्ष आदर्श श्रेष्ठ, कञ्चनपुर च्याप्टरका अध्यक्ष रेशम भट्ट, नेपालगञ्ज च्याप्टरका सदस्य सिद्धान्त जसरोटिया लगायतले आ–आफ्नो क्षेत्रको सम्भावना र चुनौतीबारे विचार राख्दै सहकार्यको आवश्यकता औंल्याएका थिए।

कार्यक्रम केवल व्यवसायिक छलफलमै सीमित नभई सुदूरपश्चिमको सांस्कृतिक पहिचान झल्काउने अवसर पनि बन्यो। सहभागीहरूका लागि भुवा नाच, सखिया नाच तथा लठ्ठी नाचजस्ता मौलिक सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिनुका साथै चौधरी थारु समुदायका परम्परागत परिकारहरू र सुदूरपश्चिमका स्थानीय खानाहरूको स्वाद चखाइएको थियो। यसले कार्यक्रममा सहभागीहरूलाई क्षेत्रीय संस्कृति र जीवनशैलीसँग नजिक बनाउने अवसर प्रदान गर्‍यो।

समग्रमा, ‘इन्टर च्याप्टर रिट्रिट’ कार्यक्रमले सुदूरपश्चिमलाई लगानी, पर्यटन र उद्यमशीलताको केन्द्रका रूपमा अघि बढाउने सम्भावनालाई उजागर गरेको छ। युवाहरूको उत्साह, अनुभव र सहकार्यले यो क्षेत्र आर्थिक समृद्धितर्फ उन्मुख हुने विश्वास कार्यक्रमले दिलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply