हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

हेटौँडा, चैत २० गते । हेटौँडाबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०, भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट उनलाई पक्राउ गरिएको हो ।

शुक्रबार बिहान अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नै फोटो टाँसी परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विक रहनुभएको छ । शुक्रबार नेपाली विषयको परीक्षा रहेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा विकले हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरी निवासी १९ वर्षीय अङ्किश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुल्न आएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।

बिहीबारदेखि सुरु भएको एसइई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार १९२ जना विद्यार्थी सहभागी भएका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत गरी कुल १ सय ४२ विद्यालयका विद्यार्थी परीक्षा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply