हेमा भट्ट, चैत २०
कञ्चनपुर – सरस्वती माध्यमिक विद्यालयमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ४ कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास सम्पन्न भएको छ। नगरपालिकाको प्राथमिकतामा परेको उक्त योजना विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बाबुराम चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राज वड, पिटिए अध्यक्ष तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हेमराज ओझाले शिक्षा क्षेत्रको विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। उनले भने,विद्यालयको भौतिक संरचना बलियो नभएसम्म गुणस्तरीय शिक्षा सम्भव हुँदैन। यसैकारण नगरपालिकाले आवश्यक पूर्वाधार विकासमा निरन्तर लगानी गरिरहेको छ। यो ४ कोठे भवनले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र आधुनिक सिकाइ वातावरण प्रदान गर्नेछ। उनले निर्माण कार्यलाई पारदर्शी र गुणस्तरीय बनाउन सबै पक्षको सहकार्य र निगरानी अपरिहार्य रहेकोमा जोड दिए।


वडा अध्यक्ष बाबुराम चौधरीले स्थानीय तहको समन्वयमा भइरहेको विकास कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै भने,यो भवन केवल संरचना मात्र होइन, हाम्रो भविष्य निर्माणको आधार हो। हामीले समयमै निर्माण सम्पन्न गराउने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता लिएका छौं।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राज वडले २०७६ सालदेखि आफूले नेतृत्व सम्हालेपछि विद्यालयमा भएका सुधारका प्रयासहरूबारे प्रकाश पारे। उनले भने,
हामीले सीमित स्रोतसाधनका बीच पनि विद्यालयको समग्र विकासमा ध्यान दिएका छौं। प्रदेश सरकारको सहयोगमा २ कोठे भवन निर्माण गरिसकेका छौं भने अहिले ४ कोठे भवन निर्माणलाई असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौं। यसका लागि सबैको साथ र सहयोग आवश्यक छ।


उनले विद्यालयमा भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारका लागि समेत निरन्तर पहल भइरहेको जानकारी दिए। पिटिए अध्यक्षले अभिभावकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भने,विद्यालयको विकासमा अभिभावकहरूको सक्रिय सहभागिता अपरिहार्य हुन्छ। हामीले बालबालिकालाई राम्रो वातावरण दिन सके मात्र उनीहरूको सिकाइ उपलब्धि अझ सुदृढ हुन्छ।


प्रधानाध्यापकले विद्यालयको हालसम्मको प्रगति उल्लेख गर्दै गत वर्षको एसईई परीक्षामा करिब ७० प्रतिशत विद्यार्थीले सन्तोषजनक नतिजा ल्याएको जानकारी दिए। उनले भने,
हाम्रो लक्ष्य केवल नतिजामा सुधार मात्र होइन, विद्यार्थीलाई सक्षम, अनुशासित र जिम्मेवार नागरिक बनाउनु पनि हो। नयाँ भवन निर्माणले शिक्षण–सिकाइ क्रियाकलापलाई अझ प्रभावकारी बनाउनेछ।


कार्यक्रममा अन्य वक्ताहरूले पनि सुरक्षित, व्यवस्थित र आधुनिक भौतिक संरचनाले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने धारणा राखे। उनीहरूले निर्माण कार्य समयमै सम्पन्न गर्न नियमित अनुगमन र पारदर्शिता आवश्यक रहेकोमा जोड दिए।


विद्यालयमा पुरानो तथा जीर्ण भवन भत्काएर नयाँ संरचना निर्माण सुरु गरिएको हो। साथै, विद्यालयले पछिल्लो समय शौचालय निर्माण, कुमारी बैंकको सहयोगमा ‘फन पार्क’ स्थापना तथा विद्यालय परिसरमा स्वास्थ्य चौकी निर्माणजस्ता पूर्वाधार विकासका कामहरू पनि अघि बढाएको छ।


प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले विद्यालयको समग्र विकासतर्फ सामूहिक प्रतिबद्धता झल्काएको छ।
नयाँ भवन निर्माणसँगै सरस्वती माध्यमिक विद्यालयमा शिक्षण-सिकाइ वातावरण अझ सुधार हुने विश्वास गरिएको छ।
