धनगढी, चैत २२ – नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा धनगढी खेलमय बन्ने भएको छ। आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना बलियो बनाउने उद्देश्यसहित आयोजना हुन लागेको ‘फ्ल्याटल्याण्ड फुटसल कप’ ले यसपटक नयाँ पहिचान पाएको छ। प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा ‘सन्तति आईभिएफ सेन्टर’ जोडिएसँगै प्रतियोगिता अब ‘सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कप’ नामबाट सञ्चालन हुने भएको छ।
फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा चैत २७ र २८ गते सञ्चालन हुने मैत्रीपूर्ण अन्तर–संस्था प्रतियोगितामा विभिन्न सरकारी तथा निजी संघ-संस्था, कार्यालय र फर्मका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मुख्य प्रायोजकको साथ महत्वपूर्ण रहेको संयोजक नवीन अधिकारीले बताए।
यस प्रतियोगिताको विशेषता भनेको सहभागीको उमेर सीमा हो। ३० वर्ष उमेर नाघेका संघ–संस्थाका पदाधिकारी तथा कर्मचारीहरू मात्र खेलमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ, जसले अनुभव र मनोरञ्जनलाई एकसाथ जोड्ने लक्ष्य राखेको छ।
प्रतियोगितामा विजेता टोलीलाई नगद ३० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताले केवल खेल मात्र नभई विभिन्न संस्थाबीच सम्बन्ध विस्तार गर्ने अवसर पनि प्रदान गर्नेछ।
यसैबीच, मुख्य प्रायोजक ‘सन्तति आईभिएफ सेन्टर’ ले धनगढीमै अत्याधुनिक र विश्वस्तरीय प्रजनन सेवा सुरु गरेर नयाँ आशा जगाएको छ। सन्तान प्राप्तिमा समस्या भोगिरहेका दम्पतीहरूलाई लक्षित गर्दै स्थापना गरिएको केन्द्रले आईभिएफ, आईयुआई लगायत बाँझोपनसम्बन्धी सम्पूर्ण परीक्षण र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।
अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रयोगशाला र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको केन्द्रले सुदूरपश्चिमका नागरिकलाई लक्षित गर्दै सहज र भरपर्दो उपचार सेवा दिने लक्ष्य लिएको छ। यससँगै प्रजनन उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।
केन्द्रले बिरामीमैत्री वातावरण, गोपनीयताको पूर्ण सुनिश्चितता तथा मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, विशेष प्याकेज, नियमित स्वास्थ्य जाँच र विशेषज्ञसँग प्रत्यक्ष परामर्शको सुविधा समेत सेवाग्राहीका लागि उपलब्ध छ।
खेल र स्वास्थ्य-दुवै क्षेत्रलाई जोड्दै अघि बढेको यो सहकार्यले धनगढीमा नयाँ वर्षको सुरुवातलाई अझ अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।
