समावेशीताको सशक्त सन्देश

हेमा भट्ट, चैत २४
बैतडी – वर्षौँदेखि सामाजिक विभेद र धार्मिक अभ्यासमा सीमित पहुँचको पीडाबाट गुज्रँदै आएको दलित समुदायबीच एक ऐतिहासिक तथा प्रेरणादायी कदम अघि सारिएको छ। धार्मिक तथा सामाजिक समावेशितालाई केन्द्रमा राखेर सम्पन्न गरिएको सामूहिक ब्रतबन्ध कार्यक्रमले समानता, सहअस्तित्व र सांस्कृतिक अधिकारको सशक्त सन्देश प्रवाह गरेको छ।

बैतडीमा आयोजना गरिएको उक्त कार्यक्रममा गोपाल राम लोहारका सुपुत्र विशाल लोहारको हिन्दु परम्पराअनुसार ब्रतबन्ध संस्कार विधिवत् सम्पन्न गरिएको थियो। कार्यक्रम प्रख्यात दैवज्ञ, त्रिकालदर्शी, संस्कारशिरोमणि तथा ज्योतिषाचार्य पिठाधीश्वर पण्डित गणेश प्रसाद पन्त (पञ्चाङ्गकार) को विशेष पहल र नेतृत्वमा सम्पन्न भएको हो।

लामो समयदेखि समाजमा विद्यमान जातीय विभेदको अन्त्य गर्दै सबैलाई समान धार्मिक अधिकार दिलाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले परम्परागत संस्कारलाई समावेशी ढङ्गले अभ्यास गर्न सकिने सन्देश दिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमअन्तर्गत सत्यनारायण पूजा, लघुरुद्राभिषेक, चण्डी पाठ, हवन तथा ब्राह्मण भोजनजस्ता विविध धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएका थिए। विशेष कुरा के रह्यो भने यी सम्पूर्ण विधिहरूमा दलित समुदायका महिला तथा पुरुषहरूको समान र सक्रिय सहभागिता रहेको थियो। यसले धार्मिक संस्कारहरूमा समान पहुँच र सहभागिता सुनिश्चित गर्न सकिने सम्भावनालाई व्यवहारमै देखाएको छ।

पदम लोहार, धामी विश्राम कोली, कुलगुरु झुले कोली, मरोड विरीराम लोहार, खडक टमटा लगायत दर्जनौँ सहभागीहरूले सामूहिक रूपमा जनै धारण गर्दै हवनमा सहभागीता जनाएका थिए। सहभागीहरूले यस्तो अवसरले आफूहरूमा सामाजिक स्वीकार्यता, आत्मसम्मान र पहिचानको अनुभूति अझ बलियो बनाएको बताएका छन्।

कार्यक्रममा महिला सहभागितालाई पनि उच्च प्राथमिकता दिइएको थियो। परम्परागत रूपमा पुरुषप्रधान मानिने यस्ता धार्मिक अनुष्ठानहरूमा महिलाको समान उपस्थिति र भूमिका देखिनुले लैङ्गिक समानताको सन्देशसमेत प्रवाह गरेको छ। यसले भावी पुस्ताका लागि समावेशी संस्कारको नयाँ उदाहरण प्रस्तुत गरेको छ।

यस कार्यक्रमलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी सामाजिक रूपान्तरणको अभियानका रूपमा पनि हेरिएको छ। जातीय विभेद अन्त्य गर्दै समान अधिकार र सम्मानको सुनिश्चितता गर्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको सहभागी तथा स्थानीय अगुवाहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख प्रेरणास्रोत आचार्य गणेश प्रसाद पन्तले विगत लामो समयदेखि समावेशी समाज निर्माणका लागि विभिन्न धार्मिक तथा सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। उहाँको सक्रियताले दलित समुदायमा धार्मिक आत्मविश्वास र सामाजिक स्वीकार्यता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयहरूले बताएका छन्।

उहाँप्रति समुदायको विश्वास दिनप्रतिदिन बढ्दै गएको छ। सहभागीहरूले आचार्य पन्तको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्ता समावेशी कार्यहरू निरन्तर अघि बढाउन सबै पक्षको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

समावेशी सोच र व्यवहारले मात्र समृद्ध र सुदृढ समाज निर्माण सम्भव हुने सन्देशसहित सम्पन्न भएको यो कार्यक्रम अहिले विभिन्न समुदायका लागि प्रेरणाको स्रोत बन्दै गएको छ। यस्ता सकारात्मक पहलहरूले समाजमा विद्यमान विभेद घटाउँदै समानता र सहअस्तित्वको संस्कृतिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply