धनबहादुर बिक, चैत २५
कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, भिमबस्तीस्थित बाईसी बिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति स्किम नम्बर १ को पाँचौँ वार्षिक साधारणसभा बुधबार संस्थाकै सभाहलमा सम्पन्न भएको छ। “स्वच्छ खानेपानी पिउँ, स्वस्थ रहौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा खानेपानी सेवाको विस्तार, व्यवस्थापन र दिगोपनाका विषयमा व्यापक छलफल गरिएको थियो।
सञ्चालनमा आएदेखि प्रभावकारी सेवा प्रवाह गर्दै आएको संस्थाले हालसम्म ७८० घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको छ। ५ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माण भएको २ लाख २५ हजार लिटर क्षमताको खानेपानी प्रणालीमार्फत सेवा विस्तार भइरहेको भए पनि वडा नम्बर १० का कुल १३५० घरधुरीमध्ये अझै ५७० घरधुरीमा सेवा पुर्याउन बाँकी रहेको जानकारी संस्थाका अध्यक्ष गोपाल काफ्लेले दिनुभयो। उहाँले सबै उपभोक्तासम्म पहुँच विस्तार गर्नु संस्थाको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक रूपमा पछाडि परेका तथा आर्थिक रूपमा विपन्न परिवारलाई निःशुल्क वा सहुलियतमा खानेपानी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्वच्छ खानेपानीलाई आधारभूत अधिकारका रूपमा स्थापित गर्न स्थानीय तह र उपभोक्ता समितिबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले अन्य खानेपानी संस्थाको तुलनामा बाईसी बिचवा खानेपानी संस्थाले प्रभावकारी काम गरिरहेको प्रशंसा गर्नुभयो। उहाँले केही क्षेत्रमा भौतिक संरचना तयार भइसके पनि सेवा सञ्चालन हुन नसक्नु सञ्चालक समितिको कमजोरी भएको टिप्पणी गर्दै त्रिभुवनबस्ती खानेपानी आयोजनाको सुस्त अवस्थाप्रति असन्तुष्टि जनाउनुभयो। साथै, बाईसी बिचवा खानेपानी संस्थामा देखिएका समस्याको समाधानका लागि पालिकाबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका सचिव बिष्णु बिकले आर्थिक वर्ष २०७९ असार मसान्तदेखि २०८१/०४/०१ सम्मको ३३ लाख ७३ हजार ५९७ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष सुकदेव राना, विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सहकारी तथा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष गोपाल काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बिष्णु बिकले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले संस्थाको आगामी योजना, सेवा विस्तार र गुणस्तर सुधारमा सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका थिए।
