हेमा भट्ट, चैत २५
कञ्चनपुर -सुदूरपश्चिम प्रदेश सभामा प्रभावशाली आवाजका रूपमा उदाउँदै आएकी प्रदेश सभा सदस्य ले हालको राजनीतिक अभ्यासलाई परिवर्तन गर्दै समावेशी र जनमुखी बनाउने स्पष्ट सन्देश दिएकी छन्। कञ्चनपुर क्षेत्र नम्बर २ (क) बाट निर्वाचित चौधरी केवल प्रतिनिधि मात्र नभई—एक युवा, एक महिला र थारू समुदायको प्रतिनिधित्व गर्ने सशक्त आवाजका रूपमा स्थापित हुँदै गएकी छन्।
उनले प्रदेश सभामा बोल्दै अबको राजनीति पुरानो सोच, सीमित नेतृत्व र बन्द संरचनाबाट होइन, जनताको प्रत्यक्ष सहभागिता, आवाज र आवश्यकता केन्द्रित हुनुपर्ने धारणा राखिन्। “अब राजनीति परिवर्तनको माध्यम बन्नुपर्छ, जहाँ हरेक वर्ग—दलित, गरिब, महिला, आदिवासी तथा सीमान्तकृत समुदायको आवाज सुन्ने र सम्बोधन गर्ने संस्कार बसालिनुपर्छ,” उनको भनाइ थियो।
स्वास्थ्य क्षेत्रको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले मुटुरोग जस्ता जटिल रोगहरूको उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्न सुदूरपश्चिममै आधुनिक स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने जोड दिइन्। “किन सुदूरपश्चिमका नागरिकले सामान्य उपचारका लागि समेत काठमाडौं धाउनुपर्छ?” भन्ने प्रश्न उठाउँदै उनले प्रदेशमै विशेषज्ञ सेवा विस्तारको माग गरिन्।
उनले विशेषगरी सिकल सेल एनिमिया जस्तो दीर्घरोगको पहिचान, परीक्षण र उपचारका लागि प्रदेशमै अत्याधुनिक सुविधा आवश्यक रहेको उल्लेख गरिन्। जस्तो रोग थारू समुदायमा बढी देखिने भएकाले यसको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको स्पष्ट अडान छ।
त्यसैगरी, सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताल लाई थप स्तरोन्नति गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्नुपर्ने माग उनले अघि सारिन्। नेपाल सरकारको नीतिअनुसार महाकाली अस्पताललाई ‘महाकाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने प्रक्रिया तीव्र बनाउनुपर्ने उनले जोड दिइन्।
महिलाको सवालमा पनि उनी निकै स्पष्ट र मुखर देखिइन्। “महिला केवल नीतिमा समेटिने विषय होइन, कार्यान्वयनमा पनि समान सहभागिता सुनिश्चित हुनुपर्छ,” भन्दै उनले महिला स्वास्थ्य, विशेषगरी हेमाटोलोजी जस्ता विशिष्ट सेवाको अभाव तत्काल सम्बोधन गर्नुपर्ने बताइन्।
सामाजिक न्याय र पहिचानको विषय उठाउँदै उनले सुदूरपश्चिमका ‘धर्तीपुत्र’ तथा प्रकृतिका पुजारीका रूपमा चिनिने थारू समुदायको ऐतिहासिक भूमिका र पहिचान संरक्षणमा राज्य गम्भीर हुनुपर्ने धारणा राखिन्। भलमन्सा प्रणालीजस्ता परम्परागत संरचनाको महत्व घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको संरक्षण र संस्थागत विकासमा ध्यान दिन आग्रह गरिन्।
स्थानीय तहमा स्वास्थ्य पूर्वाधारको कमजोर अवस्थाबारे पनि उनले प्रश्न उठाइन्। १५ शैय्यामा सीमित अस्पतालहरू अझै विस्तार हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै उनले छिट्टै ५० शैय्यामा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याइन्। “जनताको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न पूर्वाधार विस्तार अनिवार्य छ,” उनले भनिन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ निवासी गिता चौधरी लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहँदै आएकी छन्। जनतासँग नजिक रहेर काम गर्ने, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनको शैलीले उनलाई एक जिम्मेवार र भरोसायोग्य नेताका रूपमा स्थापित गरेको छ।
समग्रमा, प्रदेश सभा सदस्य चौधरीको अभिव्यक्ति केवल आलोचना नभई स्पष्ट दृष्टिकोण, सकारात्मक सोच र समावेशी विकासको मार्गचित्र हो। सुदूरपश्चिमको समृद्धि, समानता र पहुँचयुक्त सेवाको सुनिश्चितताका लागि उनको आवाज अहिले प्रदेश सभामा मात्र नभई आम जनतामाझ पनि गुञ्जिन थालेको छ।
