बैतडी, चैत २९ – बैतडीको खोडपे बजार नजिकै लुकेर बसेका फरार कैदी ३४ वर्षीय रमेश बिष्टलाई प्रहरीले सफलतापूर्वक पक्राउ गरेको छ। पाटन नगरपालिका-८, जशलीखालीस्थित एक पसलमा बसेको अवस्थामा उनलाई आज दिउँसो करिब ३ बजे नियन्त्रणमा लिइएको हो।
डडेलधुरा कारागारबाट फरार रहेका बिष्ट जेनजी आन्दोलनसँग सम्बन्धित बलात्कार मुद्दामा १८ वर्षको सजाय पाएका अभियुक्त हुन्। करिब ६ महिनादेखि फरार रहेका उनलाई इलाका प्रहरी चौकी खोडपेबाट खटिएको टोलीले सूक्ष्म अनुसन्धान र विशेष निगरानीका आधारमा पक्राउ गरेको हो।
प्रहरी नायब निरीक्षक (सई) उदयसिंह कडायतको नेतृत्वमा सञ्चालन गरिएको योजनाबद्ध अपरेशनमार्फत उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई सम्बन्धित प्रहरी कार्यालय डडेलधुरामा बुझाइएको छ।
यस सफल कारबाहीले सई खडायतको पेशागत दक्षता मात्र नभई कर्तव्यप्रति उनको उच्च प्रतिबद्धता पनि उजागर गरेको छ। उनी अपराध नियन्त्रणमा मात्र होइन, मानव सेवामा समेत उत्तिकै संवेदनशील प्रहरीका रूपमा परिचित छन्।
यसै सन्दर्भमा केही वर्षअघि कञ्चनपुरको कृष्णपुर-९, राजघाटकी बासमती चौधरीले विष सेवन गरी गम्भीर अवस्थामा पुगेकी थिइन्। त्यतिबेला पनि सई खडायतकै
नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएको थियो। समयमै उपचारका कारण उनको ज्यान जोगिएको थियो।
उक्त घटनापछि स्थानीयवासीहरूले सई खडायतको मानवियता, तत्परता र सेवाभावलाई उच्च सम्मानका साथ सम्झिरहेका छन्। उनको कार्यशैलीले प्रहरीको भूमिका केवल अपराधी नियन्त्रणमा सीमित नभई समाजको संरक्षक र सहायकका रूपमा पनि सशक्त हुनुपर्ने सन्देश दिएको छ।
सई खडायतजस्ता इमानदार, कर्तव्यनिष्ठ र संवेदनशील प्रहरी अधिकारीहरूकै कारण समाजमा सुरक्षाप्रति विश्वास थप बलियो बन्दै गएको स्थानीयको भनाइ छ। अपराध नियन्त्रणसँगै मानव सेवामा समेत सक्रिय उनको योगदानले प्रहरी संगठनप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।
