हिमालीमा प्रहरी चौकी निर्माण विवाद: स्थिति नियन्त्रणमा, उपचार जारी

रैकवार खबर
बाजुराको हिमाली गाउँपालिका
-३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका क्रममा उत्पन्न स्थान तथा सिमाना सम्बन्धी विवादपछि केही समय तनावपूर्ण बनेको अवस्था स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिको सक्रिय पहलमा नियन्त्रणमा आएको छ। घटनापछि संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी चौकी बिच्छियाका अनुसार मिति २०८३ जेठ ३ गते अस्थायी प्रहरी चौकी निर्माण हुने स्थान र सिमाना सम्बन्धी विषयमा स्थानीयबीच विवाद उत्पन्न भएको थियो। सो क्रममा केही समूहले निर्माण सामग्रीसमेत फालेर अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। सूचना प्राप्त हुनासाथ हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लको नेतृत्वमा स्थानीय जनप्रतिनिधि तथा अ.प्र.पोष्ट कुवाडीबाट प्रहरी नायब निरीक्षक चित्र बहादुर मल्लको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रारम्भिक चरणमै दुवै पक्षलाई एकै स्थानमा राखी छलफल, सम्झाइ-बुझाइ र समन्वयमार्फत विवाद समाधान गर्ने प्रयास गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, मिति २०८३ जेठ ५ गते “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ” अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको भ्रमण टोली पनि घटनास्थल पुगेको थियो। सो क्रममा ड्रोनमार्फत भिडियो खिच्ने कार्य भइरहेको अवस्थामा केही स्थानीय आक्रोशित भई वादविवाद तथा हातपात भएको जनाइएको छ।
घटनामा स्थानीय बासिन्दा, प्रहरी कर्मचारी तथा गाउँपालिकाका कार्यकारी प्रमुखसहित केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी प्रारम्भिक उपचार गरिएको छ भने गम्भीर अवस्थाका घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको छ।

घाइतेमध्ये वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्र.स.ह. महेश धामी तथा गाउँपालिकाका कार्यकारी प्रमुख कुल बहादुर थापा रहेका छन्। प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। थप रूपमा नरबहादुर गुरुङसहित केही घाइतेलाई सिम्रिक एयरको सहयोगमा सुर्खेतस्थित अस्पतालमा उपचारका लागि लगिएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले घटनापछि सबै पक्षलाई संयमता अपनाउन, कुनै पनि प्रकारको उक्साहट वा अफवाहमा नआउन तथा समस्या वार्ता र कानुनी प्रक्रियामार्फत समाधान गर्न आग्रह गरेको छ। प्रशासनले विकास निर्माणका कार्यलाई दीर्घकालीन शान्ति सुरक्षा सुदृढीकरणसँग जोड्दै स्थानीय सहकार्य अपरिहार्य रहेको स्पष्ट पारेको छ।

स्थानीय अगुवाहरूका अनुसार लाम्पाटा क्षेत्रमा प्रहरी चौकी निर्माणको विषय विगतदेखि नै छलफलमा रहँदै आएको भए पनि स्थान चयन, सिमाना स्पष्टता तथा स्वामित्वको विषयमा एकरूपता नहुँदा पटक-पटक विवाद दोहोरिँदै आएको छ। हालको घटनापछि भने सबै पक्षलाई राखेर स्थायी समाधानका लागि पुनः संवाद प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेश बहादुर शाहीले घटनापछि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको र थप अप्रिय स्थिति हुन नदिन सुरक्षाकर्मीको उपस्थिति अझै मजबुत पारिएको जानकारी दिएका छन्।

प्रशासनले आगामी दिनमा यस्ता विकास निर्माणका कार्यमा स्थानीय तह, समुदाय र सुरक्षा निकायबीच पूर्वसमन्वयलाई अनिवार्य बनाउनुपर्ने आवश्यकता औंल्याउँदै दुर्गम क्षेत्रमा हुने विकास कार्यलाई विवादरहित, पारदर्शी र सहज रूपमा अघि बढाउन जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply