महिला कबड्डीमा नेपालको शानदार पुनरागमन, थाइल्यान्डमाथि जित

नागोया (जापान), असोज ६ गते । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि ४६–४३ को जित निकाल्दै विजयी सुरुआत गरेको छ ।

टोकाइ सिटिजन जिम्नेजियममा मंगलबार भएको खेलको पहिलो हाफमा नेपाल १५–२४ ले पछि परेको थियो । डिफेन्समा भएका गल्तीको फाइदा उठाउँदै थाइल्यान्डले पहिलो हाफमा नौ अङ्कको अग्रता बनाएको थियो ।

मध्यान्तरपछि भने नेपालले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । रविना चौधरीका प्रभावशाली रेडसँगै नेपालले लगातार अङ्क जोड्दै खेलमा फर्किएको थियो । दोस्रो हाफमा नेपालले थाइल्यान्डलाई दुई पटक अलआउटसमेत गर्‍यो ।

नेपालले दोस्रो हाफ ३१–१९ ले आफ्नो पक्षमा पार्दै अन्ततः तीन अङ्कको जित निकालेको हो । थाइल्यान्डले यसअघि श्रीलङ्कालाई पराजित गरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले अब बुधबार चाइनिज ताइपेइसँग र बिहीबार श्रीलङ्कासँग खेल्नेछ । महिला कबड्डीमा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यसैबीच पुरुष कबड्डीमा भने नेपालले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार समूह ‘बी’ को खेलमा पाकिस्तानले नेपाललाई ५८–४३ ले पराजित गरेको हो । पहिलो हाफमा नेपाल १७–३० ले पछि परेको थियो भने दोस्रो हाफमा पनि पाकिस्तानले २८–२६ ले बाजी मार्‍यो ।

नेपालले रेड र ट्याकलबाट २८, बोनसबाट ११ तथा अलआउट र सुपर ट्याकलबाट समान दुई अङ्क जोडेको थियो । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । नेपालले मंगलबार साँझ इरानसँग र बिहीबार मलेसियासँग अन्तिम खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *