असोज ६ गते । नेपाल टेलिकमले सेवा विस्तार र गुणस्तर सुधारका लागि भदौ महिनामा ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी–फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बागमती प्रदेशमा ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडा तथा चितवनको मोहनपुरमा नयाँ साइट सञ्चालन गरिएको छ । गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि सेवा विस्तार गरिएको छ ।
लुम्बिनी प्रदेशमा कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट थपिएका छन् । कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा नयाँ साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
नयाँ साइटबाट सम्बन्धित क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवाको गुणस्तरमा सुधार आउने टेलिकमको अपेक्षा छ । सेवा नपुगेका तथा थप विस्तार आवश्यक रहेका स्थानमा आगामी दिनमा पनि नयाँ साइट थप गर्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।
