बाढीपहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध

असोज १२ गते । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो, सडक भासिने तथा खोलाको बहाव बढ्ने क्रमसँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडकमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग त्रिशूली नदीको बाढीले नदी किनारको अधिकांश भाग कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले काठमाडौँबाट टोखा–छहरे–विदुर–नुवाकोट, दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–जिरो–किमि कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुञ्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने जनाएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म उक्त व्यवस्था लागू रहने प्रहरीले जनाएको छ।

धादिङतर्फ पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो खसेर यातायात प्रभावित भएको छ। कृष्णभीरमा ठुलो ढुङ्गासहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ भने बेनिघाट रोराङ–१० को पानीधारामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ। यस्तै, बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध छ। धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा मनाङको बेँसीसहर–खाङसार सडकखण्डमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मनाङकै चामे–बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पामा घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा कालिकोटमा कर्णाली राजमार्ग पहिरो र लेदोका कारण अवरुद्ध छन्। गुल्मीका रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेनी–वामीटक्सार सडक तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पनि पहिरो र खोलाको बहाव बढेका कारण यातायात रोकिएको छ।

यसैगरी, म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग र ललितपुरको कान्तिलोक पथमा पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन। लमजुङको बेँसीसहर–मनाङ सडक तथा मध्यपहाडी लोकमार्ग, तनहुँको पृथ्वीराजमार्ग र पर्वतको मालढुङ्गा–बेनी सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

वर्षाका कारण जोखिम बढेका सडकमा रातिको आवागमन रोक्ने तथा कतिपय सडकमा पूर्ण रूपमा यातायात बन्द गर्ने निर्णय गरिएको छ। प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचनाअनुसार मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *