हुम्ला, असोज १२ गते । लगातारको वर्षाका कारण उत्तरी हुम्लामा उत्पादन भएको स्याउको स्वादमा कमी आउने भएपछि किसान चिन्तित भएका छन्। कृषि प्राविधिकका अनुसार लामो समयसम्म वर्षा हुँदा बोटमै रहेका स्याउमा मिठास घट्न सक्छ।
सिमकोट गाउँपालिका–५ का किसान मानविर रोकायाले आफ्नो बगैँचामा रहेका ६० बोटबाट एक हजार किलोग्रामभन्दा बढी स्याउ उत्पादन हुने अनुमान गर्नुभएको छ। दुई हजार ९४५ मिटर उचाइमा फलेका स्याउ टिप्ने समय नआउँदै असोज ९ गतेदेखि लगातार तीन दिन वर्षा भएपछि स्वादमा असर पर्ने चिन्ता बढेको उहाँले बताउनुभयो।
कृषि विकास कार्यालयका प्रमुख चुडामणी पन्तले लामो समय वर्षा हुँदा स्याउको स्वादमा कमी आउन सक्ने बताउनुभयो। हिमाली जिल्ला हुम्लाको स्याउ गुणस्तरीय भए पनि बोटमै रहेको स्याउमा अविरल वर्षाले मिठास घटेमा समस्या हुने उहाँको भनाइ छ।
खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका उच्च भूभागमा रहेका स्याउ अझै पाकिसकेका छैनन्। ती क्षेत्रमा उत्पादित स्याउ असोज १५ गतेपछि टिप्ने तयारी गरिएको छ।
यसैबीच, लगातारको वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा नाम्खा गाउँपालिका–१ हेक्पा खोलाबाट टिपेर नेपालगञ्ज लैजानुपर्ने करिब सात टन स्याउ सिमकोटमै रोकिएको छ। प्रमुख पन्तका अनुसार टिपेर लामो समयसम्म भण्डारणमा राखिएको स्याउमा समेत समस्या आउन सक्ने देखिएको छ।
