असोज १२ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवा सहजीकरणका नाममा घुस रकम माग गरी लिएको आरोपमा खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकारीविरुद्ध २८ लाख २० हजार ३७५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा चारै जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का वसन्त कुवर बस्न्यात क्षेत्रीविरुद्ध आठ लाख ९४ हजार ५०० रुपैयाँ, कैलालीको गोदावरी नगरपालिका–६ का सुरेश चौधरीविरुद्ध दुई लाख ६९ हजार रुपैयाँ र दोलखाको मेलुङ गाउँपालिका–६ की रस्मिता श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ रुपैयाँ बिगो कायम गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रवाह हुने सार्वजनिक सेवामा सहजीकरण गरिदिने भन्दै घुस रकम माग गरी लिएको आयोगको आरोप छ। सोही कार्य भ्रष्टाचारजन्य कसुर भएको दाबी गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत सजायको मागदाबी गरेको जनाएको छ। गोरखापत्र
