सुरक्षाकर्मी र स्थानीयको तत्परताले यस पटक बाढीबाट जोगियो सुस्ता

पश्चिम नवलपरासी, असोज १२ गते । अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तालाई उच्च जोखिममा पारे पनि समयमै गरिएको उद्धार र स्थानान्तरणका कारण ठूलो मानवीय क्षति हुन पाएन। बाढीको जोखिम बढ्नुअघि नै सुरक्षा निकाय र स्थानीयवासीले संयुक्त रूपमा सक्रियता देखाएपछि करिब एक हजार एक सय सुस्तावासीलाई सुरक्षित स्थानमा सारिएको हो।

बाढीको अवस्था गम्भीर बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, सशस्त्र प्रहरी बल २६ नं. गण नवलपरासीका प्रमुख गोविन्दबहादुर खत्री र प्रहरी उपरीक्षक रामबहादुर केसी आफैँ सुस्ता पुगेर उद्धारमा खटिनुभएको थियो। सुरक्षा निकायका प्रमुखहरू नै अग्रपङ्क्तिमा रहेर उद्धारमा जुटेपछि जोखिममा रहेका स्थानीयवासीमा पनि हौसला र भरोसा बढेको थियो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सुस्ताका स्थानीयवासीले संयुक्त रूपमा उद्धार तथा स्थानान्तरणको काम अघि बढाएका थिए। बाढीको जोखिममा रहेका बालबालिका, वृद्धवृद्धा, महिला तथा अन्य नागरिकलाई सुस्ता वारीस्थित बीपी माध्यमिक विद्यालयको भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको थियो।

समयमै उद्धार र सुरक्षित स्थानान्तरण गरिएकै कारण यस पटकको भीषण वर्षा र नारायणीको बाढीबाट सुस्तावासीलाई ठूलो सम्भावित क्षतिबाट जोगाउन सकिएको स्थानीयको भनाइ छ। विपद्को समयमा सुरक्षा निकायले देखाएको तत्परता र स्थानीयवासीसँग गरेको सहकार्यको सुस्तावासीले प्रशंसा गरेका छन्।

सुस्तावासी रविन्द्र जयसवालले बाढी बढ्दै जाँदा आफूहरू निकै डराएको भए पनि सुरक्षा निकायका प्रमुखहरू नै घटनास्थलमा आएर उद्धारमा खटिएको देख्दा ठूलो ढाडस मिलेको बताउनुभयो। उहाँका अनुसार समयमै उद्धार नभएको भए ठूलो दुर्घटना हुन सक्ने अवस्था थियो। सुरक्षाकर्मीको योगदानप्रति आफूहरू गर्वित रहेको उहाँले बताउनुभयो।

अर्का सुस्तावासी मुन्सीकुमारले पनि आपत्कालीन अवस्थामा सुरक्षा निकाय र स्थानीयवासीबीच भएको सहकार्यकै कारण ठूलो क्षति हुन नपाएको बताउनुभयो। उहाँले सुरक्षाकर्मी र गाउँलेको संयुक्त प्रयास तथा समयमै गरिएको स्थानान्तरण आफूहरूका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो।

सुरक्षित स्थानमा सारिएका विस्थापित नागरिकका लागि खाद्यान्न, सफा खानेपानी, स्वास्थ्य उपचार तथा आवश्यक राहत सामग्रीको व्यवस्थापनसमेत गरिएको छ। समयमै उद्धार, सुरक्षित स्थानान्तरण र आवश्यक राहत व्यवस्थापन भएपछि नारायणीको बाढीबाट जोखिममा परेको सुस्तामा यस पटक ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *